काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बागमती प्रदेशसभा सदस्य चार जनालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नहुने भएको छ।राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयका आधारमा चार सांसदलाई पदमुक्त गर्न माग गरिए पनि बागमती प्रदेशसभाकी उपसभामुखले उनीहरूको पद रिक्त भएको मान्न सकिने कानुनी आधार नपुगेको ठहर गरेकी हुन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय दलका नेता उद्धव थापासहित राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा पत्र पठाएका थिए। उक्त पत्रमाथि अध्ययन गरेपछि उपसभामुखले चारै जनालाई पदमुक्त गर्न नमिल्ने निर्णय गरेकी हुन्।
प्रदेशसभाका प्रवक्ता तथा उपसचिव (कानुन) प्रकाश चापागाईंका अनुसार सांसदहरूले संसदीय दलको ह्विप उल्लंघन गरेको पुष्टि हुने पर्याप्त आधार नदेखिएको तथा कारबाहीको प्रक्रिया पनि निर्धारित विधिअनुसार पूरा नभएको ठहर गरिएको छ।त्यस्तै, सम्बन्धित सांसदहरूलाई आफ्नो पक्षमा सफाइ पेस गर्ने पर्याप्त अवसरसमेत नदिइएको उपसभामुखको निर्णयमा उल्लेख छ।राप्रपाको विधानअनुसार पार्टी अनुशासनसम्बन्धी कारबाहीका लागि पूरा गर्नुपर्ने प्रक्रिया पालना नगरी केन्द्रबाट गरिएको पदमुक्तसम्बन्धी निर्णय त्रुटिपूर्ण देखिएको निष्कर्ष उपसभामुखले निकालेकी छन्।
यस निर्णयसँगै उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापति बागमती प्रदेशसभामा सांसदकै रूपमा यथावत् रहने भएका छन्।मुख्यमन्त्री किरण थापा नेतृत्वको सरकारमा सहभागी भएको विषयलाई लिएर राप्रपा अध्यक्ष लिङ्देनले चार सांसदविरुद्ध कारबाही अघि बढाउन खोजेका थिए। तर, उपसभामुखको निर्णयसँगै तत्कालका लागि उक्त कारबाही कार्यान्वयन नहुने भएको छ। राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले चार सांसदलाई कारबाही गर्न भदौ ८ गते प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएको थियो।