काठमाडौं, राष्ट्रिय बीमा कम्पनीले वार्षिक साधारणसभाको आहृवान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरण स्वीकृत गर्ने प्रस्तावसहित चौथो वार्षिक साधारणसभाको आहृवान गरेको हो ।
कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समितिको पाँच सय २८औँ बैठकले साधारणसभा आगामी असोज २ गते शुक्रबार आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार साधारणसभा काठमाडौंको शंखमूलमा बिहान ११ बजेबाट सुरु हुनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गतेदेखि सेयर दाखिला, खारेज तथा हस्तान्तरणसम्बन्धी कार्य बन्द गर्ने जनाएको छ । यसअनुसार भदौ १७ गतेसम्म कायम सेयरधनीले साधारणसभामा सहभागी हुन पाउनेछन् ।
यसैबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवहरि श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिको ५२७औँ बैठकले डा. श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो । सो पश्चात् कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत सुवास कोइरालालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । सञ्चालक समितिको सोही बैठकले निर्णय नं. १३२४ मार्फत कोइरालालाई निमित्त सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।