काठमाडौं, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा कार्यरत कर्मचारीहरू सातबुँदे मागसहित आन्दोलनमा उत्रिएका छन् । कम्पनीमा लामो समयदेखि लेखापरीक्षण र साधारणसभा समयमै हुन नसकेको, कर्मचारी सेवा–सर्त कार्यान्वयन नभएको तथा संस्थागत सुशासन कमजोर बन्दै गएको भन्दै कर्मचारीहरू आन्दोलन उत्रिएका हुन् ।
कर्मचारीहरूले लेखापरीक्षण सम्पन्न भइसकेका आर्थिक वर्षहरूको वार्षिक साधारणसभा यथाशीघ्र सम्पन्न गर्न र बाँकी आर्थिक वर्षहरूको लेखापरीक्षण तत्काल टुंग्याउन माग गरेका छन् । लेखापरीक्षणमा हुने ढिलाइका कारण कम्पनीका साधारणसभा समेत नियमित हुन नसकेको उनीहरूको भनाइ छ । त्यसैगरी कर्मचारी सेवा सर्तसम्बन्धी नियमावली, २०७४ (संशोधन २०७८ सहित) पूर्ण रूपमा कार्यान्वयन, नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम चुक्ता पुँजी कायम, जग्गा प्राप्तिको काम तत्काल सम्पन्न गरी भवन निर्माण सुरु गर्नुपर्ने माग पनि कर्मचारीहरूले अघि सारेका छन् ।
कर्मचारीहरूले सञ्चालक समितिबाट दैनिक कार्यसम्पादनमा हुने प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप तत्काल रोक्न तथा कम्पनीमा बढ्दै गएको भनिएको कुशासन अन्त्य गर्दै संस्थागत सुशासन निर्देशिका, २०८२ पूर्ण रूपमा कार्यान्वयन गर्न पनि माग गरेका छन् । आफ्ना माग सम्बोधन नभएसम्म विरोध तथा आन्दोलनका कार्यक्रम जारी राख्ने चेतावनी दिँदै कर्मचारीहरूले कम्पनीको समग्र सुधार र संस्थागत सुशासनका लागि सञ्चालक समिति संवेदनशील बन्न आग्रह गरेका छन् ।