काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा रणनीतिक समन्वय, जनसंवाद र संगठन सुदृढीकरणमा विशेष ध्यान दिन पाँचबुँदे निर्देशन जारी गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार परिपत्र जारी गर्दै सांसदहरूलाई उक्त निर्देशन दिएका हुन ।सुशासन, जवाफदेहिता र नागरिककेन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न संसद् र तल्लो तहका नागरिकबीच जीवन्त संवाद आवश्यक रहेको परिपत्रमा उल्लेख छ। सांसदहरूको भ्रमण औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नभई पार्टीको दृष्टिकोण विस्तार गर्ने, संगठनलाई ऊर्जावान् बनाउने तथा जनताका सुझाव र समस्यालाई संसदीय एजेन्डामा रूपान्तरण गर्ने रणनीतिक अभियानका रूपमा अघि बढाउन रास्वपाले निर्देशन दिएको छ।
रास्वपाले सांसदहरूलाई कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित पार्टी समितिलाई आधिकारिक रूपमा जानकारी गराउन भनेको छ। आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा भ्रमण गर्दा सम्बन्धित सांसद तथा पार्टी संयन्त्रसँग आवश्यक समन्वय गर्नुपर्ने परिपत्रमा उल्लेख छ।त्यस्तै, स्थानीय समितिसँग पूर्वछलफल गरी सम्बन्धित क्षेत्रका विशिष्ट तथा ज्वलन्त मुद्दा पहिचान गर्न र समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने विषयलाई भ्रमणको कार्यसूचीमा प्राथमिकता दिन निर्देशन दिइएको छ।
कार्यक्रमको स्वरूप र मोडालिटी तय गर्दा स्थानीय पार्टी संरचनाको सक्रिय नेतृत्व र अपनत्व स्थापित हुने गरी कार्यक्रम सञ्चालन गर्न पनि रास्वपाले भनेको छ।भ्रमण तथा कार्यक्रमहरूलाई तडकभडक र अनावश्यक खर्चबाट मुक्त राख्दै स्रोतसाधनको मितव्ययी उपयोग गर्नुपर्नेमा पनि पार्टीले जोड दिएको छ। यस्तो अभ्यासबाट सुशासनको सन्देश प्रवाह हुने रास्वपाको भनाइ छ।यसैगरी, जनभ्रमणका क्रममा प्राप्त सुझाव, गुनासा तथा स्थानीय समितिका वस्तुगत प्रतिवेदनलाई व्यवस्थित रूपमा लिपिबद्ध गरी संसदीय दलमा संस्थागत रूपमा पेस गर्न सांसदहरूलाई निर्देशन दिइएको छ।सांसदको प्रभावकारी भूमिका र पार्टी संगठनको चुस्तता एकअर्काका पूरक रहेको भन्दै महामन्त्री आचार्यले सुव्यवस्थित र समन्वयात्मक प्रयासबाट मात्र पार्टीको संस्थागत परिपक्वता उचाइमा पुग्ने र जनताप्रतिको जवाफदेहिता थप सुदृढ हुने बताएका छन् ।