काठमाडौं, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको नेतृत्व राजनीतिक दलहरूले नै गरेको बताएका छन् ।एमालेको राजधानी प्रदेश कमिटीले ४८औँ पुष्पलाल श्रेष्ठ स्मृति दिवसका अवसरमा मंगलबार आयोजना गरेको ‘संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता मुख्य दलहरूको भूमिका र दायित्व’ विषयक कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय नयाँ र पुराना दलका नाममा हुने बहसले समाजमा विभाजन र घरघरमा विवाद निम्त्याउन सक्ने बताए । राजनीतिक दलहरू समयअनुसार परिवर्तन हुन सक्ने चेतना बोकेका कारण कठिन परिस्थितिमा पनि निरन्तर संघर्ष गर्दै अघि बढ्न सक्ने उनको भनाइ थियो ।कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले विगतमा जनताले जिम्मेवारी दिए पनि आफूहरूले अपेक्षाअनुसार काम गर्न नसकेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताए । उनले देशभक्त शक्ति, कम्युनिष्ट तथा वामपन्थी शक्तिबीच एकता र सहकार्य गर्न सकेमा पुष्पलालप्रति साँचो श्रद्धाञ्जली हुने धारणा व्यक्त गरे ।
नेपाली कांग्रेसका नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले लोकतन्त्र र संविधानमाथि आउन सक्ने कुनै पनि चुनौतीको राजनीतिक दलहरू मिलेर सामना गर्नुको विकल्प नरहेको बताए ।वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले विगतका कमजोरी र उपलब्धिको समीक्षा गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि राजनीतिक दलहरू नै अग्रपंक्तिमा आउनुपर्ने बताए ।