काठमाडौं, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको एक आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकन, उत्कृष्ट कर्मचारी तथा शाखालाई सम्मान र आगामी वर्षको रणनीति तय गर्ने उद्देश्यले आयोजित ‘मिसन टु इम्प्रेस’ कार्यक्रम सम्पन्न भएको छ । ’इम्पाजरिङ द पिनाकल फर बेटर रिजल्ट’ भन्ने नारासहित आयोजित दुईदिने कार्यक्रम पोखरामा सम्पन्न भएको हो ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडिया र सञ्चालक समितिका सदस्य भरत कुमार तोदीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष रतन लाल केडियाले आगामी वर्षका लागि रणनीतिक योजना प्रस्तुत गर्दै नयाँ बीमा उत्पादनमा नवप्रवर्तन, व्यवसाय विस्तार तथा शाखा कार्यालयहरूको मानकीकरणलाई प्राथमिकतामा राखिने बताए । संस्थागत प्रभावकारिता थप मजबुत बनाउन सबै तहका कर्मचारीले एउटै उद्देश्यका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले टीमवर्क र उत्कृष्ट कार्यसम्पादनलाई संस्थाको सफलताको आधारका रूपमा उल्लेख गर्दै उत्पादन विविधीकरण र बजारको आवश्यकता तथा सम्भावनालाई गहिरोसँग बुझेर अघि बढ्न निर्देशन दिए । कार्यक्रममा गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्दै निर्धारित लक्ष्य हासिल गर्ने क्षेत्रीय प्रवन्धक, एरिया म्यानेजर, शाखा तथा उपशाखा प्रमुख, मार्केटिङ अफिसर र कस्टमर सर्भिस एक्जुकेटिभलगायतलाई सम्मान गरिएको थियो ।
उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा शाखालाई सम्मान गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्न प्रोत्साहित गरिएको कम्पनीले जनाएको छ । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले कम्पनीको गत आर्थिक वर्षको वित्तीय तथा व्यावसायिक अवस्थासहित विभिन्न सूचकको तथ्यांक प्रस्तुत गरेका थिए । उनले कम्पनीलाई आगामी वर्ष थप नयाँ उचाइमा पुर्याउन सबै कर्मचारीले एकताबद्ध भएर निरन्तर मेहनत गर्नुपर्ने बताए ।