काठमाडौं, दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक टर्म सीटमा हस्ताक्षर भएको छ ।
यस साझेदारीअन्तर्गत सोलार ऊर्जा उत्पादनलाई अत्याधुनिक ब्याट्री ऊर्जा स्टोरेज प्रविधिसँग एकीकृत गरी विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ पूर्वाधारलाई अझ प्रभावकारी बनाइनेछ । साथै, उच्च विद्युत् माग हुने समयमा पावर ग्रिडको निर्भरता कम गर्दै स्वच्छ ऊर्जाको उपयोग बढाइने लक्ष्य राखिएको छ । प्रस्तावित ब्याट्री ऊर्जा स्टोरेज प्रणालीले दिनभर सोलार प्रणालीबाट उत्पादन भएको अतिरिक्त विद्युत् सञ्चय गरी आवश्यकताको समयमा विद्युतीय सवारीसाधन चार्ज गर्न प्रयोग गर्नेछ । यस एकीकृत प्रणालीले ऊर्जा आपूर्तिको विश्वसनीयता बढाउनुका साथै विद्युत्को प्रभावकारी उपयोग सुनिश्चित गर्ने र चार्जिङ सञ्चालनमा नवीकरणीय ऊर्जाको प्रयोगलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।
एकीकृत ऊर्जा समाधानका व्यवसाय प्रमुख नबिन अधिकारीले चार्जिङ स्टेशनहरूमा सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीलाई एकीकृत गरेर विद्युतीय यातायातको भविष्यलाई अझ स्मार्ट, स्वच्छ र भरपर्दो बनाउने पूर्वाधार निर्माण गरिरहेको बताए । त्यसैगरी, घाम पावरका प्राविधिक निर्देशक, प्रदिप हुमागाईंले सौर्य ऊर्जा र ब्याट्री स्टोरेज प्रणालीको संयोजनले ऊर्जा दक्षता अभिवृद्धि गर्नुका साथै स्वच्छ प्रविधिमार्फत नेपालमा विद्युतीय सवारीसाधन चार्जिङ पूर्वाधारलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताए ।
परियोजना भविष्यमा नेपालभर स्थापना हुने सफा ऊर्जामा आधारित विद्युतीय सवारीसाधन चार्जिङ केन्द्रहरूका लागि एउटा नमुना परियोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । स्थानीय रूपमा उत्पादन भएको सौर्य ऊर्जा र स्मार्ट ऊर्जा भण्डारण प्रणालीको प्रयोगले कार्बन उत्सर्जन घटाउनुका साथै विद्युत् प्रणालीको स्थायित्व बढाउने, सञ्चालन खर्च घटाउने तथा विद्युतीय सवारीसाधन प्रयोगकर्तालाई अविरल चार्जिङ सेवा उपलब्ध गराउन सहयोग पुर्याउनेछ ।