काठमाडौं, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई उपलब्ध गराइने सेयर अंकित मूल्य अर्थात् प्रतिकित्ता सय रुपैयाँमै उपलब्ध गराउनुपर्ने स्पष्ट पारेको छ ।
इप्पानले आइतबार विज्ञप्ति जारी गरी स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा बिक्री गर्न नहुने जनाएको हो । केही जलविद्युत् कम्पनीहरूले नियामकीय ढिलाइका कारण स्थानीयका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरेको गरिरहेको बारेमा गम्भीर ध्यानाकर्षण भएको इप्पानले जनाएको छ । स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा बिक्री गरिएमा त्यसले प्रभावित समुदायको पहुँच सीमित हुने र आयोजनाप्रतिको अपनत्व कमजोर बन्ने इप्पानको भनाइ छ ।
आयोजना तथा स्थानीयबीच वर्षौंदेखि निर्माण भएको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्ने गतिविधि नगर्न पनि इप्पानले चेतावनी दिएको छ । इप्पानले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ को उपनियम (४) ले स्थानीय प्रभावित बासिन्दालाई १० प्रतिशत सेयर उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै आफ्ना सदस्य कम्पनीहरूलाई सोही कानुनी व्यवस्थाअनुसार अंकित मूल्यमै सेयर निष्कासन गर्न आग्रह गरेको छ ।
संस्थाका अनुसार जलविद्युत् आयोजना केवल लगानीको माध्यम नभई स्थानीय समुदायसँगको साझेदारीमा आधारित विकासको अभियान भएकाले आयोजना निर्माणका क्रममा प्रत्यक्ष प्रभाव भोग्ने स्थानीयलाई स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै सेयर व्यवस्था गरिएको हो । इप्पानले स्थानीयलाई अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा उनीहरू आयोजनाका वास्तविक साझेदार बन्ने, स्वामित्व र अपनत्वको भावना बढ्ने, सामाजिक विवाद तथा अवरोध कम हुने र आयोजना निर्माण तथा सञ्चालनमा स्थानीय सहयोग थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ । यसले स्थानीय समुदायको दीर्घकालीन आर्थिक लाभ, स्थानीय विकास र सामाजिक सद्भावमा समेत सकारात्मक योगदान पुग्ने संस्थाको भनाइ छ ।
त्यसैगरी, इप्पानले नेपाल सरकार र सम्बन्धित नियामक निकायलाई साधारण सेयर निष्कासन प्रक्रिया सरल, पारदर्शी र समयबद्ध बनाउन आग्रह गरेको छ । नियामकीय ढिलाइका कारण जलविद्युत् आयोजनाहरूले विभिन्न समस्या भोगिरहेको उल्लेख गर्दै समयमै आईपीओ निष्कासन हुने व्यवस्था सुनिश्चित गर्न इप्पानले सरकारसँग माग गरेको हो । नेपालको कुल विद्युत् उत्पादनमा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी योगदान रहेको उल्लेख गर्दै इप्पानले ऊर्जा क्षेत्रको दीर्घकालीन विकास, लगानीमैत्री वातावरण र स्थानीय समुदायसँगको विश्वास कायम राख्न स्थानीयका लागि अंकित मूल्यमै सेयर उपलब्ध गराउने नीति निरन्तर कायम राख्नुपर्नेमा जोड दिएको छ ।