काठमाडौं । ज्योति गु्रपका रुप ज्योतिले प्रभु बैंकबाट बूढानीलकण्ठमा होटल नर्थफेसको नाममा एक अर्ब २० करोड कर्जा लिएर कर्जा अपचलन गरेको पाइएको छ । तत्कालीन बैंक व्यवस्थापनसँग मिलेर गरिएको उक्त कर्जा अपचलन नयाँ व्यवस्थापन आएपछि कारबाहीको प्रक्रिया अघि बढे पनि अन्तिम समयमा कारबाहीको प्रक्रियामा ब्रेक लागेको हो । उच्च अदालत पाटनको न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले गत १५ गते अल्पकालीन अन्तरिम आदेश जारी गरी २२ गतेका लागि पेशी तोकेपछि उक्त जग्गा लिलामको प्रक्रिया अन्तिम समयमा रोकिन पुगेको हो । बैंकले उक्त जग्गा लिलामका लागि सातदिने सूचना समेत निकालिसकेको थियो । उक्त जग्गा लिलामको प्रक्रियासँगै बैंकले धितोको एनबीए बुक गरेर कर्जा अपचलन गरेको आरोपमा ऋणीलाई कारबाही गर्न प्रहरीलाई पत्र लेख्ने प्रक्रिया सुरु हुनै लाग्दा नयाँ भनिएको बैंक व्यवस्थापनले ज्योतिलाई जोगाउन कानुनी छिद्र खोजेको पाइएको छ र त्यसका लागि बैंकले कारबाहीको प्रक्रिया अन्तिम चरणमा पु¥याएका विभागीय प्रमुखलगायतका कर्मचारीहरूको मनोबल गिराएर तेजोवध गर्ने कार्य गरेको छ ।

ज्योतिले बूढानीलककण्ठमा रहेको नर्थफेस होटलको नाममा प्रभु बैंकबाट एक अर्ब २० करोड रुपैयाँ कर्जा लिएका थिए । उनले लामो समयदेखि उक्त कर्जाको साँवाब्याजको किस्ता बुझाएका थिएनन् । उनले पुरानो व्यवस्थापनसँगको मिलेमतोमा कर्जा अपचलन गर्ने छुट मात्र पाएका थिएनन् कि किस्ता नतिर्ने छुट पनि पाएका थिए ।


रुपज्योति, गुण समूका राजेन्द्र शाक्य र प्रभु गु्रपका देवी भट्टचनबीच विगत केही समयदेखि व्यावसायिक हेराफेरि र सहकार्य गर्दै आएका थिए । प्राइम लोकेसनमा घरजग्गामा उनीहरूले संयुक्त प्रयासमा आफ्नो बनाउने गर्दै आएका थिए । यही कारण उनीहरूमध्ये कसको नाममा आएको सम्पत्ति केही समयमै अर्काको नाममा नामसारी हुने गरेको थियो । त्यस्तो सेटिङ धन्दा हुन थालेपछि गभर्नर विश्वनाथ पौडेलले हस्तक्षेप गरेर प्रभु बैंकको तत्कालीन सीईओ अशोक शेरचनलाई जबरजस्ती राजीनामा दिन लगाएर सुमन शर्मालाई सीईओ बनाइएको थियो ।
सुरुको अवधिमा गभर्नरको ‘स्प्रिट’अनुसार अघि बढे पनि केही समयपछि नवनियुक्त सीईओ शर्मा बैंक ‘डिफल्टर’हरूसँग मिलेमतो गर्न पुगेको देखिएको छ । रुपज्योति र सीईओ शर्मालाई मिलाउने काम गिरिबन्धु टि–स्टेटमा छत्र गिरी र दीपक मलहोत्रालाई मिलाएर तत्कालीन भूमिुधार मन्त्री पद्मा अर्यालसमक्ष पु¥याउने कुख्यात बिचौलिया तारा सापकोटाले गरेको थाहा भएको छ । सापकोटाले ज्योतिको प्रस्ताव बोकेर पटक–पटक बैंकका अधिकारीहरूलाई भेटेका थिए । रुपज्योति र राजेन्द्र शाक्यले मात्रै प्रभु बैंकमा ११ अर्ब रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको छ भने उनीहरू दुई जनाले अर्को बैंकमा पनि त्यति नै तिर्न बाँकी रहेको छ । उनीहरूले प्रभु बैैंककै हालत अर्को बैंकमा पनि नदोहो¥याउलान् भन्न सकिने अवस्था देखिँदैन ।
साना ऋणीले कर्जा नतिर्दा तुरुन्तै धितो लिलामी हुने र कर्जा अपचलन भएको पाइए तुरुन्तै प्रहरी लगाएर पक्राउ गर्ने गरिएको पाइए पनि रुपज्योतिको प्रसङ्गमा ठ्याक्कै उल्टो भएको छ । अदालतले आउँदो २२ गतेको पेशीमा आफ्नो निर्णय दिएर जनताको ‘डिपोजिट’को रक्षा गर्ने अपेक्षा गरिएको छ तर बैंक अनियमतिता भयो भने र त्यसलाई रोक्न पुरानो व्यवस्थापनलाई हटाएर ल्याइएको नयाँ व्यवस्थापनले यति छिटै रूपरङ्ग फेरेर पुरानो व्यवस्थापनको ‘सेटिङ’मा भएको धन्दालाई काखी च्याप्नुले बैंक नसुध्रिने बाटोतर्फ उन्मुख भएको हो कि भन्ने प्रश्न खडा भएको छ ।

ज्योतिले होटल नर्थफेस भनेर कर्जा लिएको लगभग २७ रोपनी जमिनमा अहिले धानखेती हराभरा भएको छ । ठूलाबडाले यस्तै अनियमितता गर्दै जाने र त्यसमा उनीहरूलाई कारबाही नगरी छुट दिइरहने हो भने मुलुक दण्डहीनताको सिकार मात्र हुने छैन कि गरिबहरू सुकुमबासी हुने र धनीहरू झन् धनी हुने खतरा बढ्दै गएको छ ।