काठमाडौं, बालबालिका तथा युवाको जलवायु अधिकार एलायन्स नेपाल (युक्यान) ले रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिका तथा युवाको अधिकार संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।युक्यानका अनुसार बाढीबाट प्रारम्भिक विवरणअनुसार कम्तीमा १७ हजार बालबालिका प्रभावित भएका छन्। त्यस्तै, करिब १० हजार विद्यालय उमेरका बालबालिकाको शिक्षालाई निरन्तरता दिन तत्काल सहयोग आवश्यक रहेको जनाएको छ।
बाढीका कारण १८ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने थप २० विद्यालयमा आंशिक क्षति पुगेको युक्यानले जनाएको छ। विद्यालय तथा शैक्षिक पूर्वाधारमा पुगेको क्षतिका कारण हजारौं बालबालिकाको नियमित शिक्षा प्रभावित भएको छ।दूषित खानेपानी, सरसफाइको अभाव, विस्थापन तथा अत्यावश्यक सेवामा आएको अवरोधका कारण प्रभावित क्षेत्रमा बालबालिका तथा युवामा रोग, कुपोषण, हिंसा, शोषण र मानसिक तनावको जोखिम बढेको युक्यानको भनाइ छ।
संस्थाले आपत्कालीन प्रतिकार्यका सबै कार्यक्रममा बालबालिका र युवालाई केन्द्रमा राख्न आग्रह गर्दै सुरक्षित खानेपानी, पर्याप्त खाना, स्वास्थ्य सेवा, शिक्षा, सरसफाइ, मनोसामाजिक सहयोग तथा बाल संरक्षणका उपाय तत्काल सुनिश्चित गर्न माग गरेको छ।युक्यानले क्षतिग्रस्त विद्यालयको शीघ्र पुनःस्थापना गर्नुपर्नेमा समेत जोड दिएको छ। साथै प्रभावकारी बाल संरक्षण संयन्त्रको विकास, पूर्वसूचना प्रणालीको सुदृढीकरण, जलवायु उत्थानशील पूर्वाधार निर्माण, जोखिममा आधारित भू–उपयोग योजना तथा दीर्घकालीन जलवायु वित्तको सुनिश्चितताका लागि सरकार र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।
युक्यानका राष्ट्रिय संयोजक अमृत देवकोटाले प्रभावित समुदायलाई राहत वितरणमा मात्र सीमित नरही दीर्घकालीन पुनःस्थापना, पुनर्निर्माण तथा भविष्यमा हुन सक्ने विपद्को जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।युक्यानले यस बाढीलाई केवल विपद् प्रतिकार्यको विषयका रूपमा मात्र नहेरी बालबालिका तथा युवाको अधिकार, वातावरणीय अधिकार र जलवायु न्यायसँग जोडिएको गम्भीर सवालका रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ। संस्थाका अनुसार जलवायुजन्य विपद्को प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेका बालबालिका तथा युवाको सुरक्षा, शिक्षा, स्वास्थ्य र भविष्य सुनिश्चित गर्ने गरी तत्काल तथा दीर्घकालीन योजना कार्यान्वयन गर्न आवश्यक छ।