काठमाडौं, मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएको छ ।
बिहीबार विहान काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस दुर्घटनामा परेको हो । दुर्घटनामा परी छ जना घाइते भएका छन् । काठमाडौँबाट छठ पर्व मनाउन यात्रु लिएर सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस भीमफेदीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका अवधेश यादवको श्रीमती ३५ वर्षीया पुनम देवी यादव, छोरीहरू १० वर्षीया अनुकुमारी यादव, सात वर्षीया दीक्षा यादव र पाँच वर्षीया दीपिका यादव तथा उनका दुई भाइको मृत्यु भएको छ । दुर्घटनामा सवारी चालक सर्लाहीको कविलासी गाउँपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डल, चक्रघट्टा–४ का २६ वर्षीय विकेश यादव, ३५ वर्षीय गुड्डु यादव, उनकी श्रीमती गायत्रीदेवी यादव, रामदुलार यादव, सुबोध यादव, रोहन यादव, राकेश यादव, छोटु यादव र सुदेश यादवको पनि मृत्यु भएको काफ्लेले जानकारी दिए ।
घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव, तीन वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भन्ने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव रहेका छन् । घाइतेमध्ये मुकेश, सक्षम र २६ वर्षीय देवेन्द्र उपचारपछि डिस्चार्ज भएका छन् । सुजन र सुदीपलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय देवेन्द्रलाई भरतपुरस्थित मनकामना अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
छानबिन गर्न समिति गठन
भीमफेदी भएको यात्रुबाहक विद्युतीय गाडी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो ।
उक्त समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्नेछ । समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशंकर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य छन् । प्रजिअ अधिकारीका अनुसार समितिले सवारी साधनको क्षमताभन्दा बढी यात्रु राखिएको वा नराखिएको, रुट इजाजत, चालकको अवस्था तथा सडकको भौतिक अवस्थाबारे छानबिन गर्नेछ । आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायले अपनाउनुपर्ने उपाय प्रतिवेदनमा समेटिनेछ । भीमफेदी–देउराली सडकखण्डमा पछिल्लो १३ महिनामा तीनवटा ठूला दुर्घटना भएको उल्लेख गर्दै उनले सडक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको बताए । सवारीसाधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना रोक्ने पर्याप्त उपाय नभएको उनको भनाइ छ ।