काठमाडौं । जेनजी सरकार गठन भएदेखि लगातार घट्दै आएको सेयरबजारमा सेयर धितो प्रकृतिको कर्जा भने बढेको छ । चालू आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितो अर्थात् मार्जिन लेन्डिङ शीर्षकमा मात्र कुल एक खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
यो अवधिमा उनीहरूले कुल ७९ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ खर्ब ७८ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सेयर धितोमा गएको उक्त कर्जा गत आवको सोही अवधिको तुलनामा ३७ अर्ब एक करोड ९० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा एक खर्ब २५ अर्ब ५२ करोड १० लाख रुपैयाँ यस्तो कर्जा प्रवाह गरेका थिए । गत वर्ष बैंक तथा फाइनान्स कम्पनीहरूले ६८ खर्ब ८४ अर्ब ५४ करोड १० लाख रुपैयाँ निक्षेप संकलन र ५५ खर्ब १७ अर्ब ८५ करोड २० लाख रुपैयाँ कुल कर्जा प्रवाह गरेका थिए ।
सेयर धितो राखेर वाणिज्य बैंकले मात्र यो अवधिमा कुल एक खर्ब ३९ अर्ब ६२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । १० महिनामा २० वटा बैंकले कुल ७१ खर्ब ९७ अर्ब ३४ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन र ५२ खर्ब २७ अर्ब ३७ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांक छ । सेयर धितोमा दिएको उक्त कर्जा गत आवको सोही अवधिको तुलनामा ३६ अर्ब ४८ करोड ७० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा उनीहरूले ६१ खर्ब ४८ करोड ७९ लाख ४० लाख रुपैयाँ निक्षेप संकलन र ४८ खर्ब ९७ अर्ब ३५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । मार्जिक लेन्डिङमा गत वर्ष वाणिज्य बैंकहरूबाट कुल एक खर्ब तीन अर्ब १३ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
त्यस्तै १७ विकास बैंकले पनि यो अवधिमा १९ अर्ब ६५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । यस वर्ष उनीहरूले कुल छ खर्ब ४४ अर्ब चार करोड रुपैयाँ निक्षेप संकलन र पाँच खर्ब ४४ अर्ब ५० करोड ३० लाख रुपैयाँ कुल कर्जा प्रवाह गरेका छन् । सेयर धितोमा यो अवधिमा भएको कर्जा प्रवाह गत आवको सोही अवधिभन्दा एक अर्ब ४८ करोड रुपैयाँले बढी हो । गत आवमा बिकास बैंकहरूबाट सेयर धितोमा मात्र कुल १८ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । उनीहरूले गत आवको सोही अवधिमा कुल छ खर्ब नौ अर्ब ४८ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब १९ अर्ब १४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले पनि चालू आवको पछिल्लो १० महिनाको अवधिमा एक खर्ब ३९ अर्ब २१ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब छ अर्ब ३९ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा मार्जिन लेन्डिङ शीर्षकमा मात्र कुल तीन अर्ब २६ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ९४ करोड ९० लाख रुपैयाँले कम हो ।
गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले एक खर्ब २६ अर्ब २५ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ३५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा मार्जिन लेन्डिङ शीर्षकमा मात्र कुल चार अर्ब २१ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।