काठमाडौं, विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले सीजी ग्रुपद्वारा प्रवर्द्वित, युनाइटेड रेमिटसंग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले यूके, जापान, दक्षिण कोरियालगायत विश्वको जुनसुकै देशबाट मनीग्राम, टीएमएल रेमिट््यान्समार्फत नेपालमा रकम पठाउन सहज होस् भन्ने लक्ष्यका साथ युनाइटेड रेमिटसंग सहकार्य गरी विधिवत रुपमा आफ्नो सेवाको विस्तार गरेको जानकारी दिएको छ ।
उक्त सम्झौतापछि विभिन्न देशमा रहेका युनाइटेड रेमिटको प्रतिनिधि कार्यालयहरुबाट नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्र्रे बैंकका एक सय ५६ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा र तथा एक्सटेन्सन काउन्टरमार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ । उक्त सम्झौतापत्रमा युनाइटेड रेमिटको तर्फबाट सहायक महाप्रबन्धक सुदन सिं सिलवाल र माछापुच्छ्रे बैंकको तर्फबाट डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गरेका हुन् ।
स्थापना कालदेखि नै नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम तथा हिमालदेखि पहाड र तराईसम्म आफ्ना एक सय ५६ वटा शाखाहरु, ८८ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउन्टरसमेत गरी जम्मा दुई सय ५५ स्थानमा रहेका सेवा सञ्जाल रहेको छ । बैंकले हाल एक सय ९४ वटा एटीएमहरुमार्फत १८ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको जनाएको छ ।