चितवन, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जनताका माझमा पुगेर उनीहरुको समस्या बुझ्न मन्त्री आफै जनतालाई भेट्न जानुपर्ने बताएकी छिन् ।
भूमिहीन नागरिक र सहकारी पीडितको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको मन्त्री रावलको भनाइ छ । भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जनतालाई जानकारी गराउन उनी यहाँ आएकी बताइन् ।
समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्ने काम सुरु भइसकेको जनाउँदै उनले त्यस कार्यलाई अझै तीव्रताका साथ अघि बढाइने बताइन् । मन्त्री रावलले भनिन्, “धेरै समयदेखि उहाँहरु पीडामा हुनुहुन्छ । छिटोभन्दा छिटो बचत फिर्ता गर्नुपर्ने देखिन्छ ।”
बचतकर्ताको रकम फिर्ता नगरेका सहकारीलाई ताकेता गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले जनताका माझमा मन्त्री आफै पुगेर समस्या सुन्ने अभियानमा रहेको बताइन् ।