काठमाडौँ, प्रधान सेनापति अशोकराज सिग्देल बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ सर रोली वाकरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज बेलायत प्रस्थान गरेका छन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले उनी साताव्यापी औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेको जनाएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रधान सेनापति सिग्देललाई बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए ।
सदियौँदेखि रहँदै आएको दुई देशबीचको आपसी सैनिक सम्बन्धमा उक्त भ्रमणले टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।