काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायत्विअन्तर्गत धनगढी–०१, कैलालीमा अवस्थित सेती प्रादेशिक अस्पतालको डायलासिस युिनटलाई रिभर्स ओस्मोसिस प्रणाली उपलब्ध गराइ सहयोग प्रदान गरेको छ । यो सहयोगले सुदूरपश्चिम प्रदेशभरका मिर्गौला रोगी बिरामीहरूलाई प्रदान गरिने डायलासिस सेवालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
अस्पतालको डायलासिस युनिटले हाल २१ वटा डायलासिस मेसिनमार्फत तीन सिफ्टमा करिब दुई सय ४२ जना नियमित बिरामीहरूलाई सेवा प्रदान गरिरहेको छ । अस्पतालको तत्काल आवश्यकतालाई मध्यनजर गर्दै बैंकले अस्पताल व्यवस्थापन टोलीसँग छलफल गरी सबैभन्दा प्राथमिक आवश्यकता पहिचान गरेको थियो । सोही अनुसार, डायलासिस युिनटका लागि दिगो र सुरक्षित उपचार सेवा सुनिश्चित गर्न आवश्यक पर्ने प्रणालीको स्थापनालाई सर्वोच्च प्राथमिकतामा राखिएको हो ।
सेती प्रादेशिक अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले अस्पताललाई सहयोग स्वरुप अस्पतालको डायलासिस एकाइका लागि आर.ओ. प्रणाली हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सुदूरपश्चिम प्रदेशका मिर्गौला रोगीहरूको सेवामा सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महसुस भएको बताए ।
सेती प्रादेशिक अस्पताल तथा त्यहाँ उपचाररत बिरामीहरूको स्वास्थ्य सुधारको कामना गर्दै उनले यस्तो सहयोगले विशेष गरी न्यून आय र विपन्न समुदायका मिर्गौला रोगीहरूलाई प्रत्यक्ष लाभ पु¥याउने बताए । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वास्थ्य, शिक्षा, सामाजिक, आर्थिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।