काठमाडौं, सप्तरीबाट गए राती १४ सय किलो गाँजासहित एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । राती करिब पौने १ बजे सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका– ६ स्थित कटैया गाउँमा भोला सदाको घर खानतलासी गरेर लागुऔषध गाँजासहित उनलाई नियन्त्रणमा लिइएको हो ।
सदाले घरमा ठूलो परिमाणको गाँजा लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले निजको घरबाट ५६ वटा बोरामा प्याक गरिएको अवस्थामा करिब १४ सय किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो ।
गाँजासहित निजलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरी लगिएको छ । सीमावर्ती गाउँ भएकोले उक्त गाँजा भारततर्फ निकासी गर्न लागिएको आशंका गरिएको छ ।