ट्राफिक प्रहरीसँग विवाद भएपछि काठमाडौंको त्रिपुरेश्वरमा एक बसका चालकले बसमै आगो लगाएका छन्।रिद्धिसिद्धी यातायातका चालकले बसभित्रै आगो लगाएको प्रहरीले जनाएको छ। आगलागीमा चालकसमेत घाइते भएका छन्।
घाइते चालकलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिए।प्रहरीका अनुसार उक्त बस त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै थियो।
बस खाली रहेको अवस्थामा चालकले बसभित्रै बसेर आगो लगाएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। आगलागीपछि दमकल घटनास्थलमा पुगेर बसमा लागेको आगो निभाउने काम गरिरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत कारण र आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ।