काठमाडौँ, नेपालले भदौ महिनामा मात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भदौ महिनामा ५६ करोड ५६ लाख छ हजार चार सय ४३ युनिट विद्युत् निर्यात गरेर पाँच अर्ब नौ करोड २४ लाख ६१ हजार दुई सय ८२ रुपैयाँ आम्दानी गरेको हो ।
प्राधिकरणको प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र–एलडिसी) स्युचाटारले सार्वजनिक गरेको भदौ महिनामा भएको विद्युत् निर्यातको विवरणअनुसार द्विपक्षीय सम्झौतामार्फत भारतको हरियाणा तथा बिहार राज्यसँगै बंगलादेशमा र विद्युत् बजारमार्फत गरी दुई माध्यमबाट विद्युत् निर्यात गरेको हो । द्विपक्षीय सम्झौताअनुसार ४२ करोड १६ लाख २१ हजार दुई सय ८८ युनिट निर्यात गरेर तीन अर्ब ६४ करोड २५ लाख २८ हजार दुई सय ९९ रुपैयाँ आम्दानी गरेको छ भने विद्युत् बजारतर्फ १४ करोड ३९ लाख ८५ हजार एक सय ५५ युनिट निर्यात गरेर एक अर्ब ४४ करोड ९९ लाख ३२ हजार नौ सय ८३ रुपैयाँ आम्दानी गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणकाअनुसार भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रको संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात बन्द रहेको छ । अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोधसमेत गरिसकिएको प्राधिकरणले जनाएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठकाअनुसार अघिल्लो वर्षको तुलनामा भदौ महिनामा विद्युत् व्यापार सुधार भएको छ । यसलाई मन्त्री श्रेष्ठले महत्वपूर्ण उपलब्धि भनेका छन् । ‘भोटेकोशी बाढीले राष्ट्रिय उत्पादन क्षमताको करिब १० प्रतिशत प्रणालीबाट बाहिरिएको चुनौतीपूर्ण अवस्थामा समेत भदौ महिनामा नेपालले ५६ करोड ५६ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरी पाँच अर्ब नौ करोड २४ लाखभन्दा बढी आम्दानी गरेको छ’, उनले भने, ‘तुलनात्मक रूपमा हेर्दा चुनौतीपूर्ण अवस्थामा पनि विद्युत् व्यापार गत वर्षभन्दा सुधारिएको छ ।
गत आर्थिक वर्षको भदौ महिनाको विद्युत् निर्यात आम्दानी चार अर्ब ७० करोड ८२ लाख ८८ हजार पाँच सय ६५ थियो । अर्थात् यस वर्षको भदौमा निर्यात आम्दानीमा ३८ करोड २७ लाख ३५ हजार चार सय ३५ भन्दा बढी वृद्धि भएको छ ।’ यो उपलब्धि एलडीसी, स्युचाटारको निरन्तर प्रणाली समन्वय, विद्युत् प्राधिकरणको उच्च व्यवस्थापन तथा देशभर परिचालित इन्जिनियर, प्राविधिक र कर्मचारीहरूको अथक प्रयासको परिणाम भएको मन्त्री श्रेष्ठले उल्लेख गरेका छन् ।