छठ पर्व नेपाल र भारतका विशेषगरी तराई तथा मधेस क्षेत्रमा श्रद्धा, निष्ठा र भक्तिपूर्वक मनाइने महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। सूर्यदेव र षष्ठी भगवतीको आराधनामा समर्पित यस पर्वले धार्मिक आस्थासँगै प्रकृतिप्रतिको सम्मान, सामाजिक सद्भाव, समानता, आत्मअनुशासन र पारिवारिक कल्याणको सन्देश दिन्छ । परम्परागत धार्मिक मान्यतामा आधारित भए पनि यसको सामाजिक, सांस्कृतिक, पर्यावरणीय तथा वैज्ञानिक महत्त्व उत्तिकै छ । त्यसैले आधुनिक समाजमा छठ पर्वको सान्दर्भिकता झन् बढ्दै गएको छ ।
पहिले मुख्यतः तराई तथा मधेस क्षेत्रमा सीमित रहेको छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा समेत व्यापक रूपमा मनाउन थालिएको छ । यसले नेपालको भौगोलिक, भाषिक र सांस्कृतिक विविधताबीच आपसी सम्बन्ध विस्तार गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई बलियो बनाउन योगदान पुर्याएको छ ।
छठ पर्व चार दिनसम्म विभिन्न धार्मिक विधि र नियम पालना गरी मनाइन्छ । पञ्चमीका दिनदेखि व्रतको विशेष तयारी सुरु हुन्छ भने खर्नाका दिन दूध, चामल र सख्खरबाट खीर तयार गरी प्रसादका रूपमा ग्रहण गरिन्छ । षष्ठीका दिन व्रतालुहरू नदी, पोखरी तथा जलाशयका घाटमा पुगेर फलफूल, ठेकुवा, कसारलगायतका पूजासामग्रीसहित अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् । रातभर भजनकीर्तन गर्दै जाग्राम बस्ने परम्परा छ । भोलिपल्ट सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन हुन्छ । महिला तथा पुरुष दुवैले व्रत बस्ने यस पर्वमा परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको कल्याण र दीर्घायुको कामना गरिन्छ ।
छठ पर्वको ऐतिहासिक तथा पौराणिक पृष्ठभूमिसँग महाभारत, रामायण र सत्ययुगका विभिन्न कथाहरू जोडिएका छन् । महाभारतकालीन मान्यताअनुसार द्रौपदीले धौम्य ऋषिको सल्लाहमा सूर्यदेवको आराधना गरेपछि पाण्डवहरूले आफ्नो गुमेको राज्य प्राप्त गरेका थिए । अर्को मान्यताअनुसार सूर्यपुत्र कर्णले सूर्यदेवको नियमित उपासना गर्ने परम्परा सुरु गरेका थिए। रामायणकालीन कथाअनुसार लंका विजयपछि भगवान् श्रीराम र माता सीताले कार्तिक शुक्ल षष्ठीका दिन सूर्यदेवको पूजा गरेका थिए । त्यस्तै, सत्ययुगमा राजा प्रियव्रतले षष्ठी देवीको आराधना गरेपछि मृत शिशु जीवित भएको पौराणिक विश्वास पनि प्रचलित छ । यी कथाहरूले छठको धार्मिक र सांस्कृतिक महत्त्वलाई थप उजागर गर्छन् ।
धार्मिक दृष्टिले सूर्यलाई पृथ्वीमा प्रकाश, ताप र ऊर्जा प्रदान गर्ने प्रत्यक्ष देवताका रूपमा मानिन्छ भने छठी मैयालाई सन्तानकी अधिष्ठात्री देवीका रूपमा पूजा गरिन्छ । निष्ठापूर्वक व्रत बस्दा सन्तान सुख, आरोग्य, दीर्घायु र पारिवारिक कल्याण प्राप्त हुने विश्वास छ । यस पर्वमा शुद्धता, पवित्रता, धैर्य र आत्मसंयमलाई विशेष महत्त्व दिइन्छ । व्रतालुहरूले भोजन, पहिरन, पूजासामग्री र पूजास्थलको सरसफाइमा विशेष ध्यान दिन्छन्। यसले मानिसलाई अनुशासित र संयमित जीवनशैली अपनाउन प्रेरित गर्छ ।
छठ पर्वको वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धी पक्ष पनि विचारणीय छ । सूर्यको सीमित प्रकाशबाट शरीरमा भिटामिन डी उत्पादन हुन सहयोग पुग्छ, जसले हड्डी तथा दाँतको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छ । यद्यपि सूर्यलाई प्रत्यक्ष हेर्नु आँखाका लागि सुरक्षित हुँदैन । त्यस्तै, व्रतलाई आत्मसंयम र अनुशासनको अभ्यासका रूपमा लिन सकिन्छ । उपवास र शरीरको प्रक्रियाबीचको सम्बन्धबारे वैज्ञानिक अध्ययन भइरहेका छन्् । तर निर्जला व्रतले अनिवार्य रूपमा शरीरलाई विषमुक्त बनाउँछ वा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने निष्कर्ष निकाल्नु उचित हुँदैन । विशेषगरी दीर्घरोगी, गर्भवती तथा स्वास्थ्य समस्या भएका व्यक्तिले लामो समय पानी नपिई व्रत बस्दा सावधानी अपनाउनुपर्छ ।
छठको अर्को महत्वपूर्ण पक्ष प्रकृति र पर्यावरणसँगको सम्बन्ध हो। नदी, पोखरी तथा जलाशयको किनारमा पूजा गरिने भएकाले पर्वअघि सामूहिक रूपमा घाट सफा गर्ने चलन छ । यसले पानीका स्रोतको संरक्षण र सामुदायिक सरसफाइप्रति जिम्मेवारीबोध गराउँछ। बाँसका टोकरी, डाली, नाङ्लो, माटाका भाँडा तथा प्राकृतिक सामग्रीको प्रयोगले वातावरणमैत्री जीवनशैलीको सन्देश दिन्छ । आज प्लास्टिकजन्य फोहोर र नदी प्रदूषण गम्भीर चुनौती बनिरहेका बेला छठको यो सन्देश अझ महत्त्वपूर्ण छ । तर पूजापछि प्रयोग भएका सामग्री तथा फोहोरको उचित व्यवस्थापन गर्न सके मात्र यसको पर्यावरणीय महत्त्व व्यवहारमा स्थापित हुनेछ ।
छठ पर्व सामाजिक समानता र धार्मिक सहिष्णुताको पनि अनुपम उदाहरण हो । यसमा पूजा गर्न पुरोहित वा पण्डित अनिवार्य हुँदैन । धनी–गरिब, विभिन्न जातजाति र समुदायका मानिसहरू एउटै घाटमा भेला भएर सूर्यको आराधना गर्छन् । मुस्लिम समुदायका व्यक्तिहरूको समेत सहभागिता रहने यस पर्वले धार्मिक सहअस्तित्व र आपसी सद्भावलाई प्रोत्साहन गर्छ । जातीय, वर्गीय तथा सामाजिक विभेदभन्दा माथि उठेर सबैले समान रूपमा सहभागी हुन पाउने परम्पराले समानताको व्यावहारिक सन्देश दिन्छ ।
छठ पर्वको जीवनदर्शन पनि उत्तिकै गहिरो छ । सामान्यतः उदाउँदो सूर्यलाई शक्तिको प्रतीक मानेर सम्मान गर्ने गरिन्छ । तर छठमा पहिले अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ र भोलिपल्ट उदाउँदो सूर्यको पूजा गरिन्छ । यसले जीवनमा सफलता र असफलता, सुख र दुःख तथा उदय र अस्त दुवै स्वाभाविक प्रक्रिया हुन् भन्ने सन्देश दिन्छ । जीवनमा सफल व्यक्तिको मात्र होइन, कठिन अवस्थामा रहेका व्यक्तिको पनि सम्मान गर्नुपर्छ भन्ने मानवीय दृष्टिकोण यसमा निहित छ । समय सधैँ एकनास नहुने र कठिनाइपछि सुखका दिन पनि आउने भएकाले धैर्य र आशावादी बन्नुपर्ने शिक्षा यस पर्वले दिन्छ ।
आर्थिक दृष्टिले पनि छठ पर्वको महत्त्व कम छैन । यसमा प्रयोग हुने ठेकुवा, कसार, केरा, उखु, अदुवा, बेसार, भोगटे तथा अन्य कृषि उत्पादनले स्थानीय बजारमा माग सिर्जना गर्छन् । बाँसका डाली बनाउने कालीगढ, माटाका भाँडा तयार गर्ने कुमाल, किसान तथा साना व्यवसायीले प्रत्यक्ष आर्थिक लाभ प्राप्त गर्छन् । यसले स्थानीय उत्पादन, परम्परागत सीप र ग्रामीण अर्थतन्त्रलाई प्रोत्साहन गर्नुका साथै सांस्कृतिक सम्पदाको संरक्षणमा समेत सहयोग पुर्याउँछ ।
छठ पर्व केवल धार्मिक अनुष्ठान वा परम्परागत पूजा मात्र होइन, यो आस्था, प्रकृति, सामाजिक समानता, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको सुन्दर संगम हो । आधुनिक समाजमा बढ्दो वातावरणीय प्रदूषण, सामाजिक विभाजन र कृत्रिम जीवनशैलीका बीच यसले हामीलाई सादगी, शुद्धता, सहअस्तित्व र प्रकृतिप्रतिको सम्मानको पाठ सिकाउँछ । त्यसैले छठ पर्वको महत्त्वलाई धार्मिक आस्थामा मात्र सीमित नराखी यसले बोकेको सामाजिक, सांस्कृतिक, पर्यावरणीय र मानवीय मूल्यलाई व्यवहारमा उतार्न आवश्यक छ । प्रकृतिको संरक्षण, सामाजिक समानता, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको भावना आत्मसात् गर्न सके मात्र छठ पर्वको वास्तविक सन्देश सार्थक हुनेछ ।