काठमाडौं, युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाअन्तर्गत दिगो प्याकेजिङ र हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत भएका छन् ।
वातावरणमैत्री व्यवसाय, दिगो प्याकेजिङ र चक्रीय अर्थतन्त्रको प्रवर्द्धनमा नवीन समाधान प्रस्तुत गर्ने उद्यमीलाई बिहीबार काठमाडौंमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो । हरित व्यवसाय प्रवद्र्धन कार्यक्रम (जीबीएपी) अन्तर्गत तीन र दिगो प्याकेजिङ कार्यक्रम (एसपीपी) अन्तर्गत दुई उद्यमी विजेता घोषणा गरिएको थियो ।
हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत बागमती प्रदेशबाट रि अप स्टुडियो, लुम्बिनी प्रदेशबाट इकोदोस्ती प्रालि र मधेश प्रदेशबाट कुशवाहा बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म विजेता बनेका छन् । उनीहरूले जनही पाँच लाख ७४ हजार रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन् । त्यस्तै, दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत ए.वि. बायोडिग्रेडेबल प्रडक्ट प्रालि र छाहारी फार्म प्रालि विजेता बनेका छन् । दुवै संस्थाले जनही सात लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन् ।
दुवै कार्यक्रमका अन्तिम चरणमा छनोट भएका सहभागीले आफ्ना व्यावसायिक अवधारणा, उत्पादन र नवीन समाधान निर्णायक मण्डलसमक्ष प्रस्तुत गरेका थिए । व्यावसायिक सम्भावना, नवीनता तथा दिगो विकासमा पुर्याउन सक्ने यगदानका आधारमा विजेता छनोट गरिएको आयोजकले जनाएको छ ।