वासिङटन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका छन् । उनले इरानसँग फलदायी छलफल भइरहेको बताउँदै आर्थिक र सैन्य रूपमा इरान कमजोर अवस्थामा रहेको दाबी गरेका छन् ।
ट्रम्पको घोषणाअघि अमेरिकी सञ्चारमाध्यमले ह्वाइट हाउसले इरानका सम्भावित सैन्य लक्ष्यमा आक्रमणको योजना बनाउन पेन्टागनलाई निर्देशन दिएको समाचार सार्वजनिक गरेका थिए । यसैबीच, हर्मुज जलघाँटीमा तनाव र यमनका इरानसमर्थित हुथी तथा साउदी अरबबीचको शत्रुताले कच्चा तेलको मूल्य प्रतिब्यारेल १०५.८८ अमेरिकी डलरसम्म पुगेको थियो ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु गरेपछि बढेको इन्धनको मूल्यप्रति अमेरिकी मतदाता असन्तुष्ट रहेको जनमत सर्वेक्षणले देखाएका छन् । युद्ध अन्त्य भएपछि मूल्य घट्ने ट्रम्पको दाबीले मतदातालाई आश्वस्त पार्न सकेको छैन । अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पको रिपब्लिकन पार्टीले कंग्रेसमा बहुमत गुमाउन सक्ने जोखिम छ ।