काठमाडौँ, ग्लोबल आईएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ग्लोबल फाइनान्स म्यागाजिनद्वारा प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ । यससँगै बैंकले लगातार तेस्रो वर्ष उक्त प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको छ । बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक नेपाल’ अवार्ड प्राप्त गरेको थियो ।
थाइल्यान्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए । ग्लोबल फाइनान्सका अनुसार वित्तीय स्रोत परिचालन गर्ने क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को सफल प्रयोग, दिगो कर्जा प्रवाह र सबल जोखिम व्यवस्थापनलाई मूल्यांकनका प्रमुख आधार बनाएर बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो। सम्मानित हुने संस्थाहरूमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आईसीबीसी, नेपालको ग्लोबल आईएमई बैंक, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बैंकहरू रहेका थिए ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक हो। ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैंक तथा वाणिज्य बैंकहरूको कार्यसम्पादन, सेवा प्रवाह र वित्तीय क्षेत्रको विकासमा पु¥याएको योगदानका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । यस अन्तर्राष्ट्रिय सम्मानले बैंकलाई आगामी दिनमा अझ उत्कृष्ट, प्रविधिमैत्री र ग्राहकमुखी सेवा प्रदान गर्न थप प्रोत्साहन मिलेको बैंकले जनाएको छ । साथै, बैंकले आफ्नो प्रगतिमा सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गप्रति आभार व्यक्त गरेको छ ।
आधुनिक प्रविधि, नवीनतम बैंकिङ सेवा र उत्कृष्ट ग्राहक सेवाका कारण ग्लोबल आईएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । त्यस्तै, बैंकले सन् २०२२, २०२४ र २०२५ मा युरोमनी अवार्ड फर एक्सलेन्स, सन् २०२४ मा बेष्ट बैंक ईएसजी नेपाल तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका प्रतिष्ठित सम्मानसमेत प्राप्त गरेको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गर्न सफल निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले हाल तीन सय ४१ वटा शाखा, तीन सय ६६ वटा एटीएम, एक सय ४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र विदेशस्थित तीनवटा प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
यसका अतिरिक्त, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै आएको छ । यसबाट बैंकले विदेशमा रहेका नेपालीलाई सहज वित्तीय सेवा उपलब्ध गराउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
लगातार तेस्रो वर्ष प्राप्त यस अन्तर्राष्ट्रिय सम्मानले नेपाली बैंकिङ क्षेत्रको पहिचान र प्रतिष्ठालाई थप उचाइमा पुर्याउनुका साथै डिजिटल बैंकिङ, नवीन प्रविधि, वित्तीय पहुँच र गुणस्तरीय ग्राहक सेवामा बैंकले गर्दै आएको प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा पुनः स्थापित गरेको छ ।