काठमाडौं, नियमविपरीत रूपमा काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले आधा दर्जन लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाही गरेको छ ।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका कुल ५१ वटा लघुवित्तमध्ये नियमविपरीत रूपमा कार्य गरेको आधारमा आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासमा सुनसरीमा केन्द्रीय कार्यालय रहेको फरवार्ड लघुवित्त वित्तीय संस्था, बाग्लुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको मातृभूमि लघुवित्त वित्तीय संस्था, काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, काभ्रेको बनेपामा नै केन्द्रीय कार्यालय रहेको वीन नेपाल लघुवित्त वित्तीय संस्था र दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सञ्जीवनी लघुवित्त वित्तीय संस्थालाई कारबाही गरिएको हो ।
नियामकीय मापदण्डअनुसार पुँजीकोष र अनिवार्य नगद मौज्दात कायम गर्न नसक्दा ती संस्थाहरूलाई कारबाही गरिएको राष्ट्र बैंकको भनाइ छ । आव २०८२/०८३ को चौथो त्रैमासमा चार लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही गरेको राष्ट्र बैंकले दुई संस्थालाई अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै नगद जरिबाना गरेको हो ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका अनुसार फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात छ दशमलव १२ प्रतिशत मात्र कायम गरेको थियो । नियामकीय मापदण्डभन्दा कम पुँजीकोष देखिएपछि राष्ट्र बैंकले २०८३ वैशाख आठ गते बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरेको हो । यसैगरी धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले छ दशमलव ३८ प्रतिशत मात्र पुँजीकोष कायम गरेपछि २०८३ वैशाख १० गते शीघ्र सुधारात्मक कारबाहीमा परेको छ । दुवै संस्थाको पुँजीकोष नियामकीय आवश्यकताभन्दा तल देखिएपछि राष्ट्र बैंकले सुधारात्मक प्रक्रिया अघि बढाएको हो ।

पुँजीकोषको अवस्था सबैभन्दा कमजोर देखिएको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडमाथि पनि राष्ट्र बैंकले कारबाही गरेको छ । संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात चार दशमलव शून्य आठ प्रतिशत मात्र कायम गरेको थियो । उक्त अनुपात नियामकीय मापदण्डअनुकूल नभएपछि राष्ट्र बैंकले २०८३ वैशाख २९ गते विनियम ३(ख) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरेको जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार एनआईसी लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि २०८२ असार मसान्तमा छ दशमलव ३९ प्रतिशत मात्र न्यूनतम पुँजीकोष कायम गरेको थियो । पुँजीकोषमा देखिएको कमजोरीका कारण उक्त संस्थामाथि २०८३ असार १२ गते विनियम ३(क) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले भने २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेपछि प्रथम पटकका लागि ५८ रुपैयाँ ३८ पैसा नगद जरिबाना लगाइएको राष्ट्र बैंकको भनाइ छ । यसैगरी सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि २०८२ चैत तथा २०८३ वैशाख, जेठ र असार महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेपछि क्रमशः सात सय १३ रुपैयाँ ८८ पैसा, एक हजार ६७ रुपैयाँ ४० पैसा, एक हजार चार सय १२ रुपैयाँ ९१ पैसा र एक हजार चार सय १० रुपैयाँ ७८ पैसा नगद जरिबाना लगाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।