काठमाडौं, मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ९२ करोड ४१ लाख ४२ हजार ६ सय रुपैयाँ बराबरको साधारण सेयरको प्रत्याभूति (अन्डरराइटिङ) ज्योति क्यापिटल लिमिटेडले गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यका ९२ लाख ४१ हजार चार सय २६ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयरको कुल रकम ९२ करोड ४१ लाख ४२ हजार छ सय रुपैयाँ रहेको छ । सेयर प्रत्याभूतिसम्बन्धी सम्झौतामा मंगलबार काठमाडौंमा आयोजित एक समारोहबीच हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।
सम्झौतामा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र मुनलाइट हाइड्रोपावर कम्पनीका सञ्चालक समिति अध्यक्ष कल्याण विक्रम न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मुनलाइट हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गर्ने सेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्नेछ । सेयर निष्कासन प्रक्रियामा प्रत्याभूतिकर्ताको भूमिका महत्वपूर्ण मानिन्छ ।