काठमाडौं, लिट्मस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउँदै काठमाडौंमा पहिलोपटक ‘लिट्मस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ ।
कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रका पछिल्ला विकासक्रम, चुनौती तथा उदीयमान अवसरबारे छलफल गरिएको थियो । कार्यक्रममा स्थापित तथा नयाँ जलविद्युत् कम्पनी, सौर्य ऊर्जा विकासकर्ता, ईपीसी कम्पनी, परामर्शदाता तथा उद्योगसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । साथै इप्पानलगायतका संस्थाका प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।
नेपालको नवीकरणीय ऊर्जा क्षेत्रका बदलिँदो आवश्यकता तथा प्रसारण र वितरण पूर्वाधारलाई थप सुदृढ बनाउन गुणस्तरीय उत्पादन र प्रविधिको भूमिकाबारे कार्यक्रममा छलफल गरिएको थियो । सहभागीहरूले आयोजना विकास, प्राविधिक कार्यान्वयन, नवीनता तथा ऊर्जा क्षेत्रको सम्पूर्ण मूल्य शृंखलामा अझ बलियो सहकार्यको आवश्यकताबारे आफ्ना धारणा आदानप्रदान गरेका थिए । लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले नेपालको ऊर्जा क्षेत्रका विभिन्न पक्षबीच बलियो साझेदारी निर्माणको महत्वमा जोड दिएका थिए ।
कार्यक्रममा लिट्मस इन्डस्ट्रिजले दुई नयाँ कन्डक्टर प्रविधि पनि सार्वजनिक गरेको छ । कम्पनीले एचटीएलएस कन्डक्टर र एल–५९ कन्डक्टर नेपाली बजारमा प्रस्तुत गरेको हो ।