काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्मा र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ। मंगलबार अपराह्न करिब ४ बजे प्रधानन्यायाधीश शर्मालाई भेट्न आईजीपी कार्की सर्वोच्च अदालत पुगेका थिए। स्रोतका अनुसार उनीहरूबीचको भेटवार्ता पौने ५ बजेसम्म चलेको थियो।
आइतबार मध्यराति सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे जानकारी लिन प्रधानन्यायाधीश शर्माले आईजीपी कार्कीलाई बोलाएको स्रोतले जनाएको छ।
भेटवार्तामा जबराको पक्राउसँग सम्बन्धित विषयमा के–कस्तो छलफल भयो भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन। यसअघि सोमबार सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै उक्त कदमलाई स्वेच्छाचारी भनेको थियो। सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै घटनाको विरोध जनाएको थियो। जबराको पक्राउलाई लिएर सर्वोच्च अदालतले औपचारिक रूपमा आपत्ति जनाएपछि प्रधानन्यायाधीश र प्रहरी महानिरीक्षकबीच भएको भेटलाई चासोका साथ हेरिएको छ।