काठमाडौं, भोटेकोशी बाढी प्रभावित रसुवा तथा नुवाकोट जिल्लामा खोज, उद्धार, शव व्यवस्थापन र राहत वितरण कार्यमा अग्रपंक्तिमा खटिएका उद्धारकर्ता एवं स्वयं बाढी प्रभावित भएकाहरुलाई सशस्त्र प्रहरी बल नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रदान गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालले मनोवेज्ञानिक अध्ययन तथा मनोपरामर्श सेवा इकाइको समन्वयमा विपद्को जोखिमपूर्ण परिस्थितिमा नागरिकको उद्धार र सहयोगमा खटिएका सुरक्षाकर्मी तथा उद्धारकर्ता स्वयंको मानसिक स्वास्थ्य समस्या समाधान गर्ने उद्देश्यका साथ रसुवा र नुवाकोटस्थित सशस्त्र प्रहरी बल नेपालका उद्धारकर्ताहरूसँग अन्तरक्रिया गर्नुका साथै मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श प्रदान गरेको हो । सो टोलीले उद्धारकर्ताहरूसँगै स्थानीय प्रभावित समुदायको वर्तमान मानसिक तथा भावनात्मक स्थिति बुझ्न मनोसामाजिक आवश्यकता पहिचानसमेत गरेको छ ।
यही असोज ४ गते मनोविमर्शकर्ता सेजल गेलाल, काउन्सिलिङ साइकोलोजिस्ट करिश्मा काफ्ले र सशस्त्र प्रहरी नायव उपरीक्षक शम्भु विक्रम शाहसहितको टोलीले रसुवा र नुवाकोटस्थित सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा रहेका उद्धारकर्ता, कारागारमा रहेका कैदीबन्दी, होल्डिङ सेन्टरमा रहेका व्यक्ति तथा बाढी प्रभावित स्थानीय वासिन्दाहरुलाई समेत मनोसामाजिक परामर्श प्रदान गरेको हो ।
गत भाद्र १० गतेदेखि हालसम्म बाढी प्रभावित रसुवाको धुन्चे, टिमुरे, स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती, त्रिशूली बजार, ढुंगेबजारलगायतका ठाउँहरुमा शव निकाल्ने, घाइतेको उद्धार गर्ने र प्रभावितसम्म राहत पु¥याउने कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरुलगायत अन्य सुरक्षाकर्मीहरूसमेत अहोरात्र खटिइरहेका छन् ।
खोज तथा उद्धारमा खटिएका धेरैजसो सुरक्षाकर्मीहरु रसुवा र नुवाकोटका स्थानीय वासिन्दासमेत भएका कारण आफ्नो गाउँ, ठाउँ र समुदायमा भएको घटनाको कारुणिक अनुभव सुनाएका थिए । उक्त बाढीमा परी आफ्नै घरपरिवार तथा आफन्तहरु गुमाए पनि ती सुरक्षाकर्मीहरु विपद्मा परेका नागरिकहरुको सेवा र सुरक्षामा दिन रात खटिँदै आएका छन् ।
उद्धारका क्रममा क्षतविक्षत शव, आफन्तको खोजीमा छटपटाइरहेका परिवारको विचल्ली र कठिन भूगोलमा भोक–निद्रा नभनी निरन्तरको खटाइले समेत भावनात्मक र मानसिक तनावमा समस्या आएको बताइएको छ ।
सो टोलीले उद्धारकर्ताहरूसँगै उक्त क्षेत्रमा खटिएका स्थानीय कर्मचारी तथा सर्वसाधारणहरुसँग समेत प्रत्यक्ष कुराकानी गरी मनोसामाजिक परामर्श सेवा प्रदान गरेको थियो । सो क्षेत्रमा बाढीको प्रत्यक्ष सामना गरेका स्थानीयहरूमा अझै पनि अत्यधिक डर र असुरक्षाको भावना कायमै रहेको पाइएको छ । विशेष गरी फेरि ठूलो पानी पर्ला कि? पुनः यस्तै बाढी–पहिरो दोहोरिएला कि? भन्ने चिन्ता स्थानीयहरुमा देखिएको सशस्त्र प्रहरी नायव उपरीक्षक शम्भु विक्रम शाह बताउछन् । साथै विपद्को प्रत्यक्ष साक्षी बनेका वा क्षति व्यहोरेका व्यक्तिहरूमा घटनाको सम्झना बारम्बार आउनु, निद्रा नलाग्नु, भविष्यप्रति असुरक्षित महसुस हुनु र तनाव बढ्नु स्वाभाविक मनोसामाजिक प्रतिक्रिया हुन् । त्यसैले आगामी दिनमा स्थानीयस्तरमा निरन्तर मनोसामाजिक परामर्श र विशेषज्ञ सेवामा पहुँच पु¥याउनुपर्ने आवश्यकता देखिएको छ ।
विपद्मा परेका नागरिकहरु बचाउन खटिने सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूमा देखिने शारीरिक तथा मानसिक थकान, चिडचिडापन र तनावलाई कम गराउँदै भौतिक पुनःस्थापनाका साथसाथै बाढी प्रभावित सर्वसाधारण र उद्धारकर्ता दुवैका लागि ‘मनोसामाजिक पुनःस्थापना’लाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ । भविष्यमा समेत यसको असर देखिन सक्ने भएकोले विपद् प्रभावित क्षेत्रबाट फर्किएर आएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निरन्तर सम्पर्कमा राखी उनीहरुकै युनिटस्तरमा मनोपरामर्श सेवा प्रदान गर्ने योजनासमेत रहेको छ ।