काठमाडौं, एनएमबी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट सहज रूपमा कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने उद्देश्यले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँगको सहकार्यमा ‘लुप क्रेडिट’ र ‘लुप ईएमआई’ सेवा सुरु गर्ने भएको छ ।
यसका लागि एनएमबी बैंकले सिटीटेक ग्रुप र एससीटीसँग लुप नेटवर्कमा ‘इसुअर बैंक’ का रूपमा आबद्ध हुन त्रिपक्षीय सम्झौता गरेको छ । सम्झौतासँगै बैंकका ग्राहकले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थाबाट सामान खरिद गर्दा तत्काल पर्चेज क्रेडिट सुविधा प्राप्त गर्न सक्नेछन् ।
नयाँ व्यवस्थाअनुसार ग्राहकले सामान खरिद गर्दा ‘लुप क्रेडिट’मार्फत तत्काल कर्जा सुविधा लिन सक्नेछन् । त्यसैगरी, एनएमबी बैंकको डेबिट कार्ड वा क्यूआरमार्फत गरिने भुक्तानीलाई पनि सहजै मासिक किस्ताबन्दी अर्थात् ‘लुप ईएमआई’ मा रूपान्तरण गर्न सकिनेछ । यस सुविधाले ग्राहकलाई आवश्यक सामान खरिद गर्न तत्काल वित्तीय पहुँच उपलब्ध गराउनुका साथै खर्च व्यवस्थापन र भुक्तानी प्रक्रियालाई सहज बनाउने बैंकको अपेक्षा छ । डिजिटल माध्यमबाट कर्जा तथा किस्ताबन्दीको सुविधा उपलब्ध हुँदा ग्राहकले खरिद गरेको रकमलाई आफ्नो सुविधाअनुसार मासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् ।
लुप नेटवर्कमा आबद्ध व्यावसायिक संस्थाबाट सामान खरिद गर्ने ग्राहकका लागि यो सेवा उपयोगी हुने अपेक्षा गरिएको छ । यसले डिजिटल भुक्तानीको प्रयोग विस्तार गर्न तथा बैंकिङ सेवालाई थप सहज र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
बैंकले हाल देशभर एक सय ९७ वटा शाखा कार्यालय, एक सय ७६ वटा एटीएम तथा नौ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । नयाँ डिजिटल कर्जा तथा किस्ताबन्दी सेवामार्फत ग्राहकलाई थप सुविधाजनक बैंकिङ अनुभव उपलब्ध गराउने बैंकको प्रयास रहेको छ ।