काठमाडौं, प्रेसिडेन्ट बिजनेस ग्रुपले आज आइतबारदेखि पाँच दिनसम्म ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्दै छ । फेस्टिभल २९ गते बिहीबारसम्म चल्ने छ ।
यो पाँच दिनको अवधमा प्रेसिडेन्ट बिजनेस ग्रुपका विभिन्न आउटलेटहरूमा पक्कुका साथै विविध परिकार प्रस्तुत गरिने शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको थियो । काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित आउटलेटहरूमा पक्कुको मौलिक स्वाद, परम्परागत पाकविधि र नेपाली आतिथ्यताको विशेष अनुभव प्रदान गरिने आयोजकले जानकारी दिए ।
नेपाली खानाको विविधतामध्ये पक्कु एउटा मौलिक, स्वादिष्ट र गाउँघरको परम्परागत पाककलासँग गहिरो सम्बन्ध राख्ने उत्सवको परिकार हो । पुस्तौँदेखि हाम्रो सामाजिक तथा सांस्कृतिक जीवनसँग जोडिँदै आएको यस परिकारलाई नयाँ पुस्ता, स्वदेशी तथा विदेशी पाहुना र अन्तर्राष्ट्रिय बजारसम्म परिचित गराउने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले विगत तीन वर्षदेखि निरन्तर रूपमा पक्कु फेस्टिभल आयोजना गर्दै आएको छ ।
फेस्टिभल आयोजना गर्नुको उद्देश्य नै नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्नु हो । विगतका संस्करणबाट प्राप्त अनुभव, ग्राहक तथा स्वादका पारखीहरूबाट प्राप्त सुझाव र नेपाली मौलिक खानाप्रति बढ्दै गएको आकर्षणले यस अभियानलाई थप परिष्कृत र प्रभावकारी बनाउने दाबी प्रेसिडेन्ट बिजनेस ग्रुपको छ ।
यस अभियानलाई काठमाडौंमा मात्र सीमित नराखी लुम्बिनी प्रदेशबाट समेत नेपाली मौलिक स्वादको प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवामा आयोजना हुने फुड फेस्टिभलमा प्रेसिडेन्टको पक्कुलाई प्रस्तुत तथा प्रवर्द्धन गरिँदैछ । यसले नेपाली मौलिक खानालाई विभिन्न भूगोल, समुदाय र पर्यटकीय गन्तव्यसँग जोड्दै यसको पहिचानलाई व्यापक बनाउने बताइएको छ ।
नेपाली खानालाई व्यवस्थित रूपमा पहिचान, प्रस्तुति र ब्रान्डिङ गर्न सकियो भने यसले पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउनुका साथै स्थानीय कृषि उत्पादन, पशुपालन, आपूर्ति शृंखला, उद्यमशीलता र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पार्न सक्ने उक्त ग्रुपको दाबी छ ।
प्रेसिडेन्ट बिजनेस ग्रुप विगत दुई दशकदेखि होटल तथा रेस्टुरेन्ट व्यवसायमा निरन्तर सक्रिय रहँदै आएको स्थापित व्यावसायिक समूह हो । यस अवधिमा हामीले खाना, सेवा, गुणस्तर, स्वच्छता र आतिथ्यतालाई आफ्नो व्यावसायिक यात्राको मूल आधार बनाउँदै आएको छ ।
प्रेसिडेन्ट बिजनेस ग्रुपले आफ्ना होटल तथा रेस्टुरेन्टहरूलाई व्यवस्थित, गुणस्तरीय, सेवामुखी र दिगो व्यावसायिक प्रणालीअन्तर्गत सञ्चालन तथा विस्तार गर्दै आएको दाबी गरेको छ । यसै क्रममा प्रेसिडेन्ट बिजनेस ग्रुपले आगामी दिनमा आफ्नो व्यावसायिक सञ्जाललाई थप विस्तार गर्ने तयारी गरिरहेको छ ।
रुपन्देहीको बुटवल तथा काठमाडौंको बुढानीलकण्ठबाट समेत नयाँ आउटलेटहरू सञ्चालनमा ल्याउने बताइएको छ । हाल प्रेसिडेन्ट बिजनेस ग्रुपअन्तर्गतका विभिन्न व्यवसाय तथा आउटलेटहरूमा ३ सय ५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् । यो संख्या व्यावसायिक विस्तारको सूचक मात्र नभई सयौँ परिवारको अर्थोपार्जन, सीप विकास र आर्थिक निर्भरतासँग जोडिएको बताइएको छ ।
यस्ता अभियानले परम्परागत परिकारलाई आधुनिक बजारसँग जोड्ने, स्थानीय उत्पादनको माग बढाउने र नेपाली खानालाई व्यवस्थित व्यावसायिक पहिचान प्रदान गर्ने आधार निर्माण गर्ने बताइएको छ ।