काठमाडौं, राइड सेयरिङ प्लेटफर्म पठाओले आफ्ना राइडर तथा क्याप्टेनहरूका लागि कमिसनमा आधारित आम्दानी प्रणालीलाई परिवर्तन गर्दै सब्स्क्रिप्सनमा आधारित नयाँ प्रणाली लागू गर्ने घोषणा गरेको छ ।
नयाँ व्यवस्थाअनुसार पठाओका क्याप्टेनहरूले प्रत्येक राइडबाट प्राप्त आम्दानीको प्रतिशतका आधारमा पठाओलाई कमिसन बुझाउनुपर्ने छैन । यसको सट्टा क्याप्टेनहरूले आफ्नो आवश्यकता र सुविधाअनुसार दैनिक, साप्ताहिक वा मासिक निश्चित सब्स्क्रिप्सन शुल्क तिरेर राइड सेवा सञ्चालन गर्न सक्नेछन् । ‘उचित दर, मिहिनेतको कदर’ भन्ने नारासहित आफ्नो ८औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले नयाँ सब्स्क्रिप्सन शुल्क सार्वजनिक गरेको हो । उक्त शुल्कअनुसार कारका लागि २४ घण्टाको १४९ रुपैयाँ, ७ दिनको ६९९ रुपैयाँ र ३० दिनको २ हजार २९९ शुल्क तोकिएको छ ।
त्यसैगरी, बाइकका लागि २४ घण्टाको ४९ रुपैयाँ, ७ दिनको २९९ रुपैयाँ र ३० दिनको ९९९ रुपैयाँ सब्स्क्रिप्सन शुल्क निर्धारण गरिएको छ । यस प्रणालीअन्तर्गत ग्राहकले तिर्ने राइड भाडामा लाग्ने ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र १ प्रतिशत टिडिएस भने यथावत् रहनेछ ।