काठमाडौं, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सेयरधनीलाई कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले बैंकको हाल कायम चुक्ता पुँजी तीन अर्ब ७३ करोड ४० लाख ६८ हजार पाँच सय पाँच रुपैयाँ ५३ पैसाको छ दशमलव ५२ प्रतिशत अर्थात् २४ करोड ३६ लाख नौ हजार एक सय दुुई रुपैयाँ ४७ पैसा बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । त्यस्तै, हाल कायम चुक्ता पुँजीको चार प्रतिशत अर्थात् १४ करोड ९३ लाख ६२ हजार सात सय ४० रुपैयाँ २२ पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । उक्त लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी तीन अर्ब ८८ करोड ३४ लाख ३१ हजार दुई सय ४५ रुपैयाँ ७५ पैसा पुग्नेछ ।
सभाले आगामी चार वर्षका लागि छ सदस्यीय नयाँ सञ्चालक समिति समेत निर्विरोध चयन गरेको छ । संस्थापक सेयरधनीको तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा तथा सर्वसाधारण सेयरधनीको तर्फबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल सञ्चालकमा चयन भएका छन् । नवनिर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ ।
बैंकले हाल देशभर एक सय नौवटा शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीका उत्कृष्ट अभ्यासलाई निरन्तरता दिँदै आगामी दिनमा सेवा विस्तारलाई थप प्रभावकारी बनाउने बैंकले प्रतिबद्धता जनाएको छ ।