काठमाडौं, नेपालको दोस्रो ठूलो व्यापार रहेको चीनसँगको तीनवटा व्यापारिक नाका खुलाउने विषय अन्योलमा परेको छ । भदौ १० मा गएको विनाशकारी भोटेकोशी बाढीको कारण बन्द हुन पुगेको रसुवागढी र त्यसपछि चीनले एकतर्फी बन्द गरेको तातोपानीसँगै असोज दोस्रो साता कालीगण्डकी बाढीपछि कोरला नाका समेत बन्द छ ।
रसुवागढीमा भौतिक संरचनासमेत बगेकाले सञ्चालनमा आउने सम्भावना तत्काल नरहे पनि तातोपानीमा कूटनीतिक प्रयास गरे चीनले खोल्न सक्ने देखिएको छ । यता मुस्ताङको कोरलाबाट आयातनिर्यातमा चीनले जोड दिए पनि असोज दोस्रो साता आएको बाढीले कालीगण्डकी करिडोरमा सडक बगाउनेदेखि पहिरो खसेकाले सञ्चालनमा आउन सकेको छैन । नेपालले तातोपानी नाका खोल्न पहल गरिरहे पनि चीनले नमान्दा नाका सञ्चालनमा अन्योल छाएको हो ।
यी नाका हुँदै चीनबाट नेपालका व्यवसायीहरूले अबौँ, रुपैयाँबराबरको सामग्री आयात गर्ने गरेका थिए । तर अहिले बन्द भएसँगै आयात व्यापार ठप्प भएको छ । निर्यात व्यापार पनि ठप्प भएको भन्सार विभागका निर्देशक किशोर बर्तौलाले जानकारी दिए । उनका अनुसार नेपाली पक्षबाट व्यापारिक नाका खुलाउन प्रयास गरे पनि सम्भव हुन सकेको छैन । बाढीका कारण सामग्री ढुवानी गर्ने सडकसञ्जालमा पूर्ण रूपमा क्षति भएको कारण चीनसँगको व्यापारिक नाकाबाट आयात निर्यात ठप्प हुन पुगेको हो ।
दशैंँ, तिहार र छठका लागि ठूलो परिमाणमा चीनबाट विभिन्न सामग्री आयात गर्ने भए पनि यो वर्षको लागि त्यो सम्भव नहुने व्यवसायीहरू बताउँछन् ।
दशैँ, तिहार र छठका लागि व्यवसायीहरूले चीनबाट लत्ताकपडा, जुत्ताचप्पल, बत्ती, विद्युतीय सामग्री, सजावटका सामग्री, स्याउ, लसुनलगायतका सामग्रीहरू प्रशस्त आयात गर्थे । करोडौँको सामग्री आयात गर्ने समयमा नाका बन्द हुँदा व्यवसाय प्रभावित बन्न निश्चित रहेको नेपाल हिमालयन सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले बताए । उनका अनुसार दशैं, तिहार र छठमा चीनसँगको आयात व्यापार बढ्ने गरेको थियो । तर यस वर्ष भने नाकाबन्द भएका कारण व्यापार प्रभावित हुने निश्चित छ ।
सरकारले व्यापारिक नाका खुलाउन प्रयास गरे पनि दसैं अघि खुल्ने सम्भावना कम रहेको उनको भनाइ छ । चीनबाट आयात मात्रै नभई नेपालबाट लाखौँ मूल्यबराबरको सामग्री चीनमा निर्यात समेत हुने गरेको छ । नेपालबाट पश्मिना तथा सल, ऊनी गलैँचा, फेल्ट (ऊनी कपडा) र धागो, हस्तकला र धार्मिक सामग्रीहरू, धातुका मूर्ति र भाँडाकुँडाह, थान्का र कलाकृति, रुद्राक्ष तथा बोधिचित्त माला, काठ र हातेकागजलगायतका सामग्रीहरू चीनमा निर्यात हुने गरेको छ ।
त्यस्तै चीनसँगको व्यापारिक नाका बन्द हुँदा राजस्व संकलनमा समेत असर परेको छ । तातोपानी र रसुवाको विकल्पको रुपमा हेरिएको कोरोला नाकासमेत बन्द हुँदा दैनिक करोडौं राजस्व संकलनको लक्ष्य समेत प्रभावित बन्न पुग्न निश्चित रहेको छ । सडकमार्गबाट सामग्री आयात गर्दा छिटो हुने गरेकोमा समुद्रबाट ल्याउनुपर्ने हुँदा आयातमा असर पर्ने निश्चित रहेको निर्देशक बर्तौलाले बताए । उनले समुद्रबाट सामग्री आयात गर्दा ५० देखि ६० दिन समय लाग्ने हुँदा ढिलो हुने बताए । यसरी समय लाग्दा राजस्व संकलन समेत छिटो हुनुको सट्टा ढिलो हुन पुग्छ ।
चीनतर्फको नाकाबाट वार्षिक करिब ५० अर्ब रुपैयाँ राजस्व संकलन हुने गरेको निर्देशक बर्तौलाले बताए । वार्षिक कुल राजस्वको १२ देखि १५ प्रतिशतसम्म चीनतर्फको हिस्सा रहेको उनको भनाइ छ । गत वर्षको तुलनामा १५ प्रतिशत राजस्वमा वृद्धि हुने विभागको दाबी रहेको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा चीनतर्फका तीनवटै भन्सार नाकाबाट लक्ष्यअनुसार राजस्व संकलन हुन सकेन । तातोपानी, रसुवा र कोरला नाकाबाट कुल ७६ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ३५ अर्ब २३ करोड रुपैयाँ मात्रै संकलन भएको विभागले जनाएको छ ।
तीनवटै नाकाबाट लक्ष्यको तुलनामा राजस्व संकलन निकै कम भएको हो । तातोपानी र रसुवा नाकाबाट अपेक्षाअनुसार राजस्व संकलन हुन नसक्दा लक्ष्य प्रभावित हुन पुगेको हो । गत आर्थिक वर्ष तातोपानी नाकाबाट २४ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । तर, उक्त नाकाबाट १४ अर्ब ५३ करोड रुपैयाँ मात्रै संकलन भएको छ । यो लक्ष्यको करिब ५९ प्रतिशत हो ।
यसैगरी रसुवा नाकाबाट ४० अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा १३ अर्ब ७५ करोड रुपैयाँ मात्रै संकलन भएको छ । कोरला नाकाबाट १२ अर्ब एक करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा छ अर्ब ९५ करोड रुपैयाँ संकलन भएको विभागले जनाएको छ । राजस्व प्रभावित भइरहेको अवस्थामा चालू आर्थिक वर्ष २०८३÷८४ मा सरकारले यी नाकाबाट ५९ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । तर व्यापरिक नाका सञ्चालनमा आउने नआउने निश्चित नहुँदा राजस्व संकलनमा चुनौती देखापरेको छ ।
सो वर्ष चीनसँगको कुल व्यापार घाटा चार खर्ब २३ अर्ब ३५ करोड ४४ लाख रुपैयाँ रहेको थियो । जसमा आयात चार खर्ब २५ अर्ब २४ करोड ७० लाख रुपैयाँ र निर्यात एक अर्ब ८९ करोड २५ लाख रुपैयाँ रहेको थियो । यसैबीच सरकारले चालू आर्थिक वर्षमा कुल १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
यता सरकारले भने तातोपानी–झाङ्मु र लिजी–कोराला नाका खोल्न चीनसँग आवश्यक समन्वय गरिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–चीनबीचको व्यापार प्रभावित हुन नदिन वैकल्पिक नाकाहरू सञ्चालनमा ल्याउने विषयमा चीनसँग आवश्यक समन्वय भइरहेको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल–चीनबीचको व्यापार प्रभावित हुन नदिन वैकल्पिक नाकाहरू सञ्चालनमा ल्याउने विषयमा चीनसँग आवश्यक समन्वय भइरहेको बताए ।
‘नेपाल–चीनबीचको व्यापारलाई सहज बनाउने दिशामा मन्त्रालयबाट तातोपानी–झाङमु र लिजी–कोरालालगायतका नाकाहरू खुलाउने विषयमा हाल आवश्यक समन्वय भइरहेको छ’, उनले भने, ‘रसुवागढी नाका बन्द हुँदा चीनसँगको व्यापार बन्द नहोस् भन्ने उद्देश्यले मन्त्रालयले आवश्यक पहल गरिरहेको छ । व्यापार मात्र नभई आवगमनमा समेत असर परेकोले नाका खुलाउन मन्त्रालय लागेको छ । ’
नाका बन्द हुँदा नेपाल–चीनबीचको आवागमन तथा व्यापारमा सहजता कायम राख्न सरकारले तातोपानी नाका खुला गर्न चीन सरकारसँग आग्रह गर्दै आएको क्षेत्रीले स्पष्ट पारे ।