काठमाडौं, पोखरास्थित लक्जरी इको–रिसोर्ट द पाभिलियन्स हिमालयज, द फार्म सन् २०२६ को कोन्डे नास्ट ट्राभलर रिडर्स च्वाइस अवाड्र्समा एसियाका उत्कृष्ट होटलमध्ये छनौट भएको छ । दिगो पर्यटन, वातावरण संरक्षण तथा स्तरीय आतिथ्य सेवाका लागि परिचित पाभिलियन्स हिमालयजको यो उपलब्धिले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पहिचान थप बलियो बनाएको छ । प्राकृतिक वातावरणसँग समायोजन गरी सञ्चालनमा रहेको रिसोर्टले विलासी आतिथ्यसँगै वातावरणीय दिगोपन र जिम्मेवार पर्यटनलाई प्राथमिकता दिँदै आएको उल्लेख गरेको छ ।
स्थानीय समुदायको सहभागिता तथा प्राकृतिक स्रोतको संरक्षणलाई पर्यटन व्यवसायसँग जोडेर रिसोर्टले आफ्नो सेवा र पूर्वाधार विकास गरेको जनाएको छ । विश्वप्रसिद्ध यात्रा तथा पर्यटन प्रकाशन कोन्डे नास्ट ट्राभलरले आयोजना गर्ने रिडर्स च्वाइस अवाड्र्स यात्रु तथा पाठकको रोजाइ र अनुभवमा आधारित हुन्छ । अवार्डमा विश्वभरका होटल, रिसोर्ट, गन्तव्य तथा पर्यटन सेवाहरू समेटिने गरेका छन् ।
पाभिलियन्स हिमालयजको अन्तर्राष्ट्रिय सूचीमा परेको यो उपलब्धिले नेपालको लक्जरी तथा इको–टुरिजमलाई विश्व पर्यटन बजारमा थप प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, पोखरालाई उच्चस्तरीय तथा दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न पनि यसले योगदान गर्ने विश्वास गरिएको छ ।