काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन: ओरालो लागेको छ । अघिल्लो दिन नौं दशमलव ६२ अंकले ओरालो लागेको नेप्से परिसुचक आज बुधबार पुन चार दशमलव ८२ अंकले ओरालो लागेर २५ सय ९८ दशमलव ८९ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य दुई अंकले ओरालो लागेर चार सय ६४ दशमलव ६३ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ५२ वटा कम्पनीहरुको ४७ हजार नौं सय पटकको कारोबारमा एक करोड २६ लाख ५५ हजार तीन सय ७४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ७६ करोड ५१ लाख २७ हजार आठ सय ८५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।