काठमाडौं, विराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ । यसका लागि कम्पनीले एनआईसी एसिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
विराट एग्री र एनआईसी एसिया क्यापिटलबीच भविष्यमा प्रचलित कानुनबमोजिम सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्न आवश्यक संस्थागत परामर्श सेवा तथा निष्कासन र बिक्री प्रबन्धकसम्बन्धी कार्य गर्ने गरी दुई पक्षीय सम्झौता भएको हो । इटहरी–१३, सुनसरीमा कारोबार कार्यालय रहेको विराट एग्री कृषि तथा एक्वाकल्चर क्षेत्रमा व्यावसायिक, आधुनिक र दिगो ढाँचामा काम गर्दै आएको कम्पनी हो । कम्पनीले मोरङ र सुनसरीमा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन सञ्चालन गर्दै आएको जनाएको छ ।
कम्पनीले इटहरी–१३, खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक फिस फिड प्लान्ट सञ्चालन गरी विभिन्न प्रकारका तैरिने तथा डुब्ने माछाका दाना उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ ।
बिराट एग्रीले आगामी दिनमा पाङ्गास फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट स्थापना गर्ने योजना अघि बढाएको छ । आधुनिक प्रविधिबाट पाङ्गास माछा प्रशोधन गरी फिलेट तथा अन्य मूल्य अभिवृद्धि भएका माछाजन्य उत्पादन तयार गर्ने लक्ष्य कम्पनीको छ । त्यस्तै, माछा तथा पशुपन्छीका लागि पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको आधुनिक फिड प्लान्ट स्थापना गर्ने योजना पनि कम्पनीले अघि सारेको छ ।
कम्पनीका अनुसार प्रस्तावित आईपीओबाट प्राप्त पुँजी उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि तथा व्यावसायिक पूर्वाधार विकासमा परिचालन गरिनेछ । उत्पादनदेखि प्रशोधन, प्याकेजिङ, कोल्ड स्टोरेज र बजारीकरणसम्मको प्रक्रियालाई एकीकृत प्रणालीमा जोड्ने कम्पनीको दीर्घकालीन योजना छ ।
‘फार्म टु मार्केट’ अवधारणाअन्तर्गत आफ्नै फार्ममा माछा उत्पादन, माछाको दाना उत्पादन, आधुनिक प्रशोधन तथा फिलेटिङ, कोल्ड स्टोरेज, प्याकेजिङ र बजार व्यवस्थापनलाई एउटै व्यावसायिक चक्रमा विकास गर्ने लक्ष्य कम्पनीले लिएको छ । यसबाट कृषि तथा एक्वाकल्चर क्षेत्रमा मूल्य अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा योगदान पु¥याउने कम्पनीको अपेक्षा छ ।
यसैबीच, एनआईसी एसिया क्यापिटलले आफ्नो ‘प्राइभेट टु आईपीओ’ सेवाअन्तर्गत कम्पनी स्थापनादेखि आईपीओ निष्कासनको चरणसम्म आवश्यक संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । उक्त सेवामार्फत निजी कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गर्ने, आवश्यक संस्थागत प्रक्रिया पूरा गर्ने तथा साधारण सेयर निष्कासनसम्मका कार्यमा परामर्श प्रदान गरिने क्यापिटलले जनाएको छ ।