काठमाडौं, बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवर्द्धन, औद्योगिक सुरक्षा तथा नयाँ उद्यमी उत्पादनका लागि नीतिगत सुधार गर्ने बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको सचिवालयमा आयोजित कार्यक्रममा उनले नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् । नेपालमा करिब सात लाख साना तथा मझौला उद्योग सञ्चालनमा रहेको उल्लेख गर्दै उनले स्थानीय कच्चा पदार्थको उपयोग, विदेशी मुद्रा आर्जन तथा युवा पलायन रोक्न यस्ता उद्योगको महत्वपूर्ण भूमिका रहेको बताए । स्थानीय उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि हेटौँडामा ‘कोसली घर’ निर्माण भइसकेको र जग्गा उपलब्ध भएका अन्य जिल्लामा समेत विस्तार गर्ने उनले बताए । महिला उद्यमीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुका साथै जिल्लास्तरीय औद्योगिक प्रदर्शनीका लागि बजेट व्यवस्था गरिएको उनको भनाइ छ ।
यस्तै उनले स्थानीय विरोधका कारण उद्योग स्थानान्तरण गर्नुपर्ने समस्या समाधान गर्न प्रदेश सरकारले छुट्टै कानुनी व्यवस्था गर्न लागेको बताए । प्रारम्भिक वातावरणीय परीक्षण लगायत आवश्यक प्रक्रिया पूरा गरी स्थापना भएका उद्योगलाई अनावश्यक स्थानान्तरण हुन नदिई सुरक्षा प्रदान गरिने उनको भनाइ छ । व्यवसायीलाई अप्ठ्यारो पार्ने ऐन, नियमाबली तथा कार्यविधि संशोधन गर्न प्रदेश सरकार तयार रहेको उनले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङले उद्योग दर्ता तथा नवीकरण प्रक्रिया सरलीकरण, स्वदेशी उत्पादनको प्रवर्द्धन, प्रविधि हस्तान्तरण, महिला तथा युवा उद्यमशीलता र उद्योगमैत्री सेवा प्रणालीलाई प्राथमिकता दिन माग गरिन् । सार्वजनिक निकायले खरिद गर्ने वस्तु तथा सेवामा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादन अनिवार्य गर्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । साना तथा महिला उद्यमीका उत्पादनको बजारीकरणका लागि राष्ट्रिय निर्यात गृह तथा बागमती प्रदेश र स्थानीय तहमा ‘कोसेली गृह’ स्थापना गर्न, औद्योगिक ग्राम निर्माणका लागि बजेट व्यवस्था गर्न र महासंघको सहभागितामा राष्ट्रियस्तरको बिक्रीकक्ष स्थापना गर्न पनि उनले माग गरिन् ।
महासंघ, केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष रिता अवालले स्थानीय उत्पादन, रोजगारी, महिला तथा युवा उद्यमशीलता र प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका घरेलु तथा साना उद्योग पुँजीको अभाव, उच्च ब्याजदर, प्रविधि, बजार, कच्चा पदार्थ तथा आयातित वस्तुसँगको प्रतिस्पर्धाका कारण उद्यमीहरू कठिन अवस्थामा रहेको बताइन् ।
बागमती प्रदेश सरकारले घरेलु तथा साना उद्योग विकास कोष स्थापना गरी सहुलियतपूर्ण कर्जा तथा रुग्ण उद्योग पुनरुत्थानको व्यवस्था, महिला उद्यमीका लागि विशेष बजेट र कार्यक्रम, सरकारी खरिदमा स्थानीय उत्पादनलाई प्राथमिकता तथा एक पालिका–एक विशेष उत्पादन कार्यक्रमलाई ब्राण्डिङ, बजार र निर्यातसँग जोड्नेलगायतका कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष डम्बर प्रसाद रेग्मी, महासचिव विनोददेव पन्तलयागतले धाराणा राखेका थिए । सो अवसरमा महासंघका उपाध्यक्षहरु हरिहर थापा, मोहन कटुवाल, कोषध्यक्ष विरेन्द्र जत्तिलगायतको उपस्थिति रहेको थियो ।