काठमाडौँ, नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शुक्रबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेकी छन् ।
सो भेटका अवसरमा कार्यवाहक राजदूत बोल्डिनले भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै उनले बाढीबाट उत्पन्न परिस्थितिपछि राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा नेपाललाई सहयोग र समर्थन गर्न अमेरिकी सरकार तयार रहेको जानकारी गराइन् । यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको पनि उनले बताइन् ।
नेपालमा राहत तथा पुनःस्थापनापछि पुनर्निर्माणको चरणसम्म अमेरिकी सरकारको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री खनालले यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरेकामा अमेरिकी सरकार तथा अमेरिकी जनताप्रति आभार व्यक्त गरे ।