काठमाडौं, इनड्राइभले हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि सात करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी सो रकम अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रका नुवाकोट र धादिङका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । विपद्का कारण जनधनको क्षतिसँगै घर, विद्यालय, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण सार्वजनिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ ।
बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्य जारी रहेका छन् भने बेपत्ता व्यक्तिहरूको खोजीसमेत निरन्तर भइरहेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको आर्थिक योगदानसँगै इनड्राइभले बाढी प्रभावित समुदायसम्म प्रत्यक्ष राहत पुर्याएको जनाएको छ । यसअन्तर्गत नुवाकोटको विदुर नगरपालिका वार्ड न–९ का बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामाग्री उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।
कम्पनीले खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लांकेट तथा स्यानिटरी प्याडलगायत अत्यावश्यक सामाग्री वितरण गरेको हो । इनड्राइभका फाउन्डर तथा सीईओ आर्सेन टोम्स्कीले बाढीले धेरै परिवार र समुदायलाई गम्भीर क्षति र कठिन परिस्थितिको सामना गर्न बाध्य बनाएको बताए ।