काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले यमपञ्चकको पहिलो दिन काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै उनले नेपाली संस्कृति, परम्परा, धार्मिक विश्वास र जीवजन्तुप्रतिको आत्मीयताको महत्त्व उल्लेख गरेका छन्।
काग तिहारको अवसरमा कागलाई यमराजको दूतका रूपमा सम्मान गर्दै मीठा परिकार खुवाउने परम्पराको चर्चा गरेका उनले प्राचीन समयमा सञ्चारको माध्यम नभएको अवस्थामा काग कराउँदा कतैबाट समाचार वा पाहुना आउन लागेको संकेतका रूपमा लिने गरिएको विश्वाससमेत स्मरण गरेका छन्।
उनले परिवारका सदस्यको नाममा यम दीपदान गर्ने परम्पराको उल्लेख गर्दै हाम्रो संस्कृतिले यमराजलाई डरको प्रतीकका रूपमा मात्रै नभई न्यायको प्रतीकका रूपमा पनि चित्रण गरेको बताएका छन्। यमराजले दुष्कर्म गर्नेलाई दण्ड र सत्कर्म गर्नेलाई संरक्षण गर्ने धार्मिक विश्वास रहेको उनको भनाइ छ।
यसैगरी, धन्वन्तरी जयन्तीका अवसरमा आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै उनले सबैको निरोगी जीवनको कामना गरेका छन्।भोलि मनाइने कुकुर तिहारको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री शाहले कुकुरलाई मानव सभ्यताको विश्वासिलो र वफादार साथीका रूपमा चित्रण गरेका छन्। घरको सुरक्षादेखि अनुसन्धान तथा उद्धार कार्यसम्म मानिसलाई सहयोग पुर्याउँदै आएका कुकुरप्रतिको प्रेम र कृतज्ञता प्रकट गर्ने पर्वका रूपमा उनले कुकुर तिहारको महत्त्व औँल्याएका छन्।
पर्वहरूले मानिस र अन्य जीवजन्तुबीचको सहअस्तित्व तथा सद्भावलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै उनले पशुपन्छीप्रतिको आत्मीयतालाई नेपाली चाडपर्वको सुन्दर पक्षका रूपमा व्याख्या गरेका छन्।शुभकामना सन्देशको अन्त्यमा उनले सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहँदै समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा यस्ता पर्वले प्रदान गरून् भन्ने कामना गरेका छन्। उनले आफ्नो सन्देशको अन्त्यमा ‘जय देश, जय संस्कृति’ उल्लेख गरेका छन्।