काठमाडौं, नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत कोलकाता बन्दरगाहबाट विराटनगरसम्म पहिलो पटक औपचारिक रूपमा रेल कार्गो सेवा सञ्चालनमा आएको छ । यससँगै तेस्रो मुलुकबाट आयात हुने मालसामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सार यार्डसम्म ल्याउन सकिने भएको छ ।
नेपाली महावाणिज्यदूतावास, कोलकाताका अनुसार साउन १ गते कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलो रेल कार्गो औपचारिक रूपमा प्रस्थान गरेको थियो । नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर सेवाको शुभारम्भ गरेका थिए । नेपाल–भारत पारवहन सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातको लागि भारतीय सडक मार्ग, रेल मार्ग र जल मार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था गरेको छ । सोहीबमोजिम भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले ४ नोभेम्बर २०२५ मा जारी गरेको नेटिफिकेशन नम्बर ७३/२०२५–कस्टममार्फत इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटिएस) नियमावली, २०१९मा संशोधन गर्दै भारतका कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको थियो ।
उक्त निर्णय कार्यान्वयन गराउन कोलकाता भन्सारले २६ फेब्रुअरी २०२६मा सार्वजानिक सुचना जारी गरी कोलकाता र हल्दियाबाट वीरगन्जका अतिरिक्त जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाल भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो । महावाणिज्यदूतावासले कोलकाता भन्सार, बन्दरगाह, सिपिङलाइनसँग समन्वय गरी साउन १ गतेदेखि कोलकाता बन्दरगाहदेखि विराटनगरका लागि पहिलो पटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुभारम्भ गरेको हो । पहिलो रेल कार्गोमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ किसानद्वारा तयार पारिएको क्यानोला दाना राखिएका मर्स्क लाइनका ४० वटा ४० फिटका उच्च क्षमताका कन्टेनरहरू रहेका छन् । ती सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जडान गरिएको छ ।
नेपाल–भारत सीमावर्ती क्षेत्र जोगबनी एकिकृत भन्सार यार्ड हुँदै विराटनगर आइपुग्ने यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएसँगै अब एकै पटकमा ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनरहरू रेलमार्फत सिधै विराटनगर पठाउन सकिने भएको छ । सडक मार्गको तुलनामा रेल कार्गो सुरक्षित, भरपर्दो, न्युन लागत हुनेछ । करिव २४ घन्टाको समय अवधिमा विराटनगर पुग्ने भएकाले सवै प्रकारका वस्तु आयातमा सहज हुने जनाईएको छ । यसअघि वीरगञ्जसम्म मात्र उपलब्ध रहेको रेल कार्गो सुविधा अब विराटनगरमा पनि विस्तार भएको हो । यसले बन्दरगाहमा लाग्ने डेमरेज, कन्टेनर डिटेन्सन शुल्क तथा सडक ढुवानीको अतिरिक्त लागत घटाउने, समग्र लजिस्टिक्स खर्च कम गर्ने र व्यापार सहजीकरणसँगै नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।