काठमाडौं, नयाँ आर्थिक वर्ष २०८३/०८४ को अवसरमा गरिमा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार तथा आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले आफ्नो डिजिटल इकोसिस्टममा एकैसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ ।
विकास बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल तथा गरिमा इन्टर बैंक क्यूआर टेलर सेवाको औपचारिक शुभारम्भ गरेको छ । गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा इ–कमर्स प्लेटफर्महरूमा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिनेछ ।
त्यसैगरी, गरिमा पीओएस टर्मिनल सेवामार्फत व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट तथा प्रिपेड कार्डमार्फत सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस सेवाले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्दै व्यापारिक कारोबारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यसैगरी, गरिमा इन्टर बैंक क्यूआर टेलर सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मोबाइल एपबाट गरिमा इन्टर बैंक क्यूआर स्क्यान गरी गरिमा विकास बैंकको जुनसुकै शाखबाट सहजरुपमा नगद प्राप्त गर्न सक्नेछन् ।
डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै आइरहेको गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुलाई सुरक्षित, सरल, छरितो र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यका साथ आगामी दिनमा पनि नवीनतम प्रविधिमा आधारित सेवाहरू विस्तार गर्दै जाने विश्वास व्यक्त गरेको छ । आईएसओ ९००१ः२०१५÷आईएसओ २७००१ः२०२२ मान्यता प्राप्त यो विकास बैंकले देशभर एक सय २६ वटा शाखा कार्यालय, ५१ एटीएम एवं नविनतम डिजिटल इकोसिस्टममार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।