काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी ढङ्गले फुटवेयर (जुत्ता, चप्पल)को व्यापार÷व्यवसाय नगर्न सरोकारवाला सबैलाई निर्देशन दिएको छ ।
विभागले शुक्रबार सार्वजनिक सूचना जारी गरेर गैरकानुनी रूपमा फुटवेयरको व्यापार÷व्यवसाय नगर्न निर्देशन दिएको हो । विभागले बजारमा लेवल नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएका फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो आएको जनाएको छ ।
विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५को दफा ६ मा उत्पादकले आफूले उत्पादन गरेका वस्तुमा ऐनले तोकेबमोजिमको लेवल लगाउनुपर्नेछ । विभागले सोही ऐनको दफा ८ मा भएको व्यवस्था अनुसार पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानुनबमोजिमका सर्त पूरा गर्नसमेत अनुरोध गरेको छ ।
विभागले सोही ऐनको दफा ११ मा वस्तु बिक्री गर्ने बिक्रेताको दायित्वलगायत कानुनी प्रावधानबमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको उल्लेख गरेको छ । विभागले सबै उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेताहरूलाई कानुनले तोकेबमोजिमको दायित्व तथा शर्त परिपालना गरी उद्योग व्यवसाय सञ्चालन गर्न सूचित गरेको हो । कानुनविपरीतका कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।