दोलखा, दोलखा जिल्लाको जिरी नगरपालिकामा पछिल्ला केही दिन यता मौसमी रुघाखोकी (इन्फ्लुएन्जा)भाइरसको संक्रमण फैलिएको छ । संक्रमण फैलिएपछि नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय चार दिन बन्द हुने भएका छन् ।
नगरपालिकाले भदौ ३ देखि ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यस अवधिमा सञ्चालन हुने परीक्षा तथा अन्य गतिविधिसमेत स्थगित गरिएको छ । विद्यालयका नियमित गतिविधि भदौ ७ गतेदेखि सञ्चालन गर्न नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले जारी गरेको सूचनामा भनिएको छ ।
पछिल्ला केही दिन यता बालबालिकामा उक्त संक्रमणका बढेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । इन्फ्लुएन्जाको सिकारमा स्वास्थ्यकर्मी नै परेका छन् । जिरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूमा इन्फ्लुएन्जासँग मिल्दोजुल्दो लक्षण देखिएपछि सोमबार बिरामीको नमूना (स्याम्पल) काठमाडौं लगेर परीक्षण गरिएको थियो ।