बीसौं शताब्दीको भारतीय साहित्य जगतमा अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा बढी ख्याति कमाएका (स्वामी विवेकानन्द जस्तै) लेखकमा राहुल सांस्कृतियानको नाम अग्र पंक्तिमा आउँछ । वैदिक साहित्य अध्ययन क्रममा उनी हाम्रो लुम्बिनी पशुपतिक्षेत्रमा पटक–पटक आउने गरेका उनका लेखनहरूमा भेटिन्छ । ‘भारतका तीन महाकवि सुमित्रानन्दन पन्त, जयशंकर प्रसाद, सूर्यकान्त त्रिपाठी ‘निराला’ (पन्तप्रसाद निराला) बराबर नेपालका एक महाकवि लक्ष्मीप्रसाद देवकोटा’ उनको यस कथनका कारण नेपाली बौद्धिक समाजमाझ प्रशस्त इज्जत सम्मान दिने गरेको पनि पाइन्छ । उनका सयकडौं पुस्तकहरूमध्ये ‘वोल्गादेखि गङ्गासम्म’ एक बहुचर्चित पुस्तक हो । जुन पुस्तक आजका मितिमा सयकडौं भाषामा उपलब्ध छ र संसारभरिका विश्वविद्यालयहरूमा पढाइ हुन्छ । त्यस पुस्तकमा चिनियाँ यात्री हान च्वाङ्ले गरेका नेपाल वर्णन उताको एक समय एउटा विवरण बडो रोचक र तत्कालीन हाम्रो चेतना अवस्थाको ऐना जस्तो छ ।
सभ्य र उन्नत व्याख्या भएका आर्य समाजका एक भ्रमण शौखिन व्यक्ति श्रीमतीसँग अनुमति लिएर हाम्रो भेग (नेपाल) आइपुग्छ । दुईचार महिना नयाँ ठाउँको यात्रा (पर्यटक) आनन्द बटुलेर घर आइपुगेपछि श्रीमतीले सोध्दछिन्– ‘कस्ता रहेछन् त्यहाँका मानिस ?’ श्रीमतीको यो प्रश्नमा ती पर्यटक पति उत्तर दिन्छन्– ‘त्यहाँ मानिस होइन, असुरहरूको बसोबास हुँदो रहेछ । कालो–कालो ताम्र पहेँलो वर्णको होचो मोटो कद टाढाबाट हेर्दा सानो–सानो ढिस्को जस्तो देखिने ती मानिस नभएर असुरहरू हुन्’ हामी नेपालीहरूबारे श्रीमान्को यस्तो वर्णन सुनेर ती श्रीमतीले ‘ए त्यस्तो पो’ भनिन् र भान्छा तयार छ भन्दै चुलोतिर गइन् । त्यतिखेरको हाम्रो अवस्था त्यस्तै थियो । त्यतिखेरै कुरो सिद्धियो पनि ।
त्यतिखेरै सिद्धिएको कुरो यतिखेर उठाउनुको प्रयोजन र सान्दर्भिकता के ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । प्रयोजन प्रश्नमा त पाठ्यक्रमलाई जसले जसरी बुझ्दछ त्यही हुने होला । सान्दर्भिकताको प्रश्नमा हिजो आज पनि देखिने भेटिने गरेका ‘ढिस्को (असुर) चेतना’का केही अवशेष तथ्य उजागर गर्न अग्रसर भएको हुँ । असुर (कविलायी) चेतनाबाट विकसित परिमार्जित हुँदै आजको मनुष्य चेतनामा आइपुगेको एउटा आधुनिक अध्ययन पद्धतिबाट निस्केको निष्कर्ष तथ्य पाठ्यक्रम उदाहरणमा राखेर अभिष्ठ पाठ्यक्रममा आइपुग्छु ।
एकजना हुनुहुन्छ, मैले ‘भलाद्मी मनु’ संज्ञा दिने गरेको छु, दीपक ज्ञवाली । रुसबाट इन्जिनियर डिग्री हासिल जलश्रोत विज्ञका रूपमा राजा ज्ञानेन्द्रद्वारा मन्त्रीको जिम्मेवारी पाउनुभएका र फुर्सदको समय हार्वड क्याम्ब्रिज विश्वविद्यालयसम्म क्लास लिने गर्नुभएका प्रोफेसर नेपाली बौद्धिक समाजमा मास्लै स्तरको चिनारी स्थापित । तर मैले उहाँलाई नोटिसमा लिन थालेको त्यस्तो बौद्धिक चिनारी स्थापितका कारणले होइन । त्यस्तो चिनारी स्थापित भएका डा. रामशरण महतदेखि स्वर्णिम वाग्लेसम्म बहुराष्ट्रिय कम्पनी (अक्षरसः इस्ट इन्डिया कम्पनीको ठाउँ)का जागिरे, एजेन्ट (शारीरिक÷मानसिक) कति छन् कति, धेरैको त मलाई नै न्वारानदेखिको सबै थाहा छ । त्यसैले नै यस स्तम्भमा स्वर्णिम वाग्लेको बजेट आउँदा बखत ‘स्वर्णिमको बजेट बालेन पुरिने खाल्डो’ लेखेको थिएँ । मैले दीपकजीप्रति नोटिस लिन थालेको उहाँको लिगेसी थाहा पाएर हो । पुर्खाको लिगेसी (जीन), संस्कार, संस्कारबाट आएको प्रवृत्ति–नियत, त्यसको कति ठूलो महत्व हुन्छ भन्ने शास्त्र (विज्ञान) भाष्यमा यहाँ नजाऊँ । उहाँको पिताजी शम्भूप्रसाद ज्ञवाली जो राजा महेन्द्रको अति भरपर्दो विश्वासिलो गृह, कानुन र न्यायमन्त्री हुनुहुन्थ्यो । एक दिन राजा महेन्द्रले अचानक अह्राउनुभयो– ‘३ महिनाभित्र बीपी फर्केर (भारत निर्वासन) प्रधानमन्त्री बन्ने संविधानको मस्यौदा तयार गरेर ल्याऊ । सूर्यबहादुर, तुलसी गिरि, विश्वबन्धुलाई सुइँको नदिनु । ऋषिकेश, सूर्यप्रसाद उपाध्याय, श्रीभद्र शर्मासँग सल्लाह लिन सक्छौ ।’ महेन्द्रको आज्ञा शिरोधार्य गरेर ३ महिनाभित्र शम्भूप्रसाद ज्ञवाली तयार गरेर ल्याएको बीपी प्रधानमन्त्री बन्न सक्ने संविधानको मस्यौदा राजा महेन्द्रले चितवनको दियालो बङ्गलामा एक हप्ता अध्ययन गरेर दियालो बङ्गलामै क्याबिनेट डाकेर ‘यो संविधान पर्सी विधिवत् जारी गर्छु’ भनेको अघिल्लो दिन नै मृत्यु (हत्याका प्रमाण जुटिसकेका छन्) भयो । यदि नेपालमा राजा महेन्द्र र प्रधानमन्त्री बीपी भएर १० वर्ष काम गर्न पाएका भए आजको नेपाल कस्तो हुन्थ्यो होला भन्ने कल्पनातिर यहाँ नलागौँ । गाँठी कुरो दीपक ज्ञवालीको यति कुरा यहाँ ल्याउनुको मुख्य तात्पर्यमा आउँछु ।
दीपक ज्ञवालीलगायत उहाँले विश्वका विभिन्न विश्वविद्यालयमा क्लास लिन जाँदा भेट हुने गरेका विभिन्न देशका मन मिल्ने प्रोफेसरहरूको एउटा अध्ययन (रिसर्च) केन्द्र रहेछ । त्यसले लामो समय लगाएर युरोप अमेरिका र एसिया, अफ्रिकाबीचको आजको आम जनजागरण चेतना स्तरको तुलनात्मक अध्ययन गरेको रहेछ । त्यसमा एसिया अफ्रिकाको आजको आम जनजागरण स्तर युरोप अमेरिकाको अठारौँ शताब्दी (दुई शताब्दीपछि)को आम जनजागरण चेतनासँग तुलनीय पाइयो । दीपक ज्ञवाली टिमको यो अध्ययन ठहर मेरो नलेजमा आइपुगेका बखत मैले सम्पादन गरेको नयनबहादुर खत्री (१० वर्ष प्रधानन्यायाधीश, चार वर्ष चीनको लागि राजदूत, साढे ६ वर्ष ‘राष्ट्रिय मानव अधिकार आयोग’का संस्थापक अध्यक्ष)को आत्मवृत्तान्त ‘मेरो जीवनयात्रा अनुभव र अनुभूति’ पुस्तक (विसं. २०६६)को एउटा वाक्य स्मृतिमा ताजा हुन आइपुग्यो । गिरिजा कांग्रेस गणतन्त्र (प्रचण्डको झोले)मा गइसकेपछि खत्रीजीको विश्लेषण टिप्पणी थियो– ‘आजभन्दा २६ सय वर्ष अघि ग्रीसमा गणतन्त्र र दासप्रथा दुवै एक साथ थियो । आज हामीले गणतन्त्र त ल्यायौँ, तर दास मानसिकताबाट माथि उठ्न सकेका छौँ कि छैनौँ ?’ खत्रीजीको यो टिप्पणीलाई राष्ट्रकवि माधव घिमिरेले पनि थपडी (पुस्तक लोकार्पण अवसर) बजाउनु भएको थियो ।
राष्ट्रकविको थपडी बजाउनुको आशय ‘हो अझै हामी दास मानसिकताबाट माथि उठ्न सकेका छैनौँ’ भन्ने थियो । हुन पनि हो, अठारौँ शताब्दीको युरोपको जनचेतना भनेको नै दासप्रथा, मानिस पशु सरह किनबेच हुने समाज नै हो । आरजु देउवाका कमारा कमारीले नेपाली नागरिकलाई भुटानी बनाएर बेचेका जस्तै ।अब आऊँ उल्लिखित दास मानसिकताको कसीमा बालेन सरकारका १०० दिन (हनिमुन पिरियड)का बारेमा हाम्रा बौद्धिक समाज र पत्रकार जगतबाट आएको राजनीतिक विश्लेषण टिकाटिप्पणी ठहर विषयमा ।(१) देश बेचेर (लिपुलेक लिम्पियाधुरा कालापानी भारतको नक्साभित्र) जनता लुटेर थुपारेका नेता कर्मचारीका श्रोत नखुलेका सम्पत्ति छानबिन नगर्न सर्वोच्चको आदेश (२) दलाइ लामाको जन्मोत्सव समारोह (३) गणेश नेपालीको पेट्रोल खनाएर आत्मदाह प्रकरण । खासगरी यी तीन विषय बालेन सरकारलाई ठूलो चुनौति भन्ने ‘मिडिया ट्रायल’को यतिखेर व्यापक हल्ला चलेको छ । मिडिया ट्रायल (दुनो सोझ्याउन झुठो प्रचार)का नायक, खलनायक, नाटक दृष्यका कलाकारहरूमा ऋषि धमलादेखि विजयकुमार पाण्डेसम्म टीकाराम यात्री, जीवराम भण्डारी, दिलभूषण पाठक, किशोर श्रेष्ठ, देवप्रकाश त्रिपाठी, मुमाराम खनाल, युवराज घिमिरे, सुधिर शर्मा आदि इत्यादि कति कति नेपाल पत्रकार महासंघ किशोर नेपाल हरिहर विरहीहरू मुख्य पात्र भइहाले । मैले बीपीसँगको राजनीतिक सहयात्रामा ७ वर्ष जेल झेलेर बाहिर आएपछि २५ वर्ष सक्रिय पत्रकारिता गर्दा भेटेको चरित्र, प्रवृत्ति अहिले सम्झिँदा पनि दिगमिग फिलिङ हुन्छ ।
ठूलो वरिष्ठ पत्रकार कहालिएको अहिले पनि जीवित छ र माथि उल्लिखित नामहरूलगायत सबैले ठूलो पत्रकार भनेर मान्दै आइरहेकै छन् । रेडिसन होटलमा रक्सी खाएको बिल लाख (त्यति खेरको लाख निकै नै हुन्थ्यो) कटेपछि माग्दा भोलिपल्ट अखबारमा ब्यानर समाचार आउँछ ‘रेडिसनमा दाउद इब्राहिमको मानिस’ । माओवादी रगतपच्छे हिंसात्मक कालखण्डमा पर्यटकको खडेरी परेको बेला परेन फसाद ! एउटा पुस्तक लेख्ने क्रममा होटल रेडिसनका मालिक गोविन्ददास श्रेष्ठसँग झण्डै दुई वर्ष नियमित सङ्गत भएका बखत यो तथ्य मेरा अगाडि उपस्थित भएको हो । तसर्थ यो जमातबाट उल्लिखित तीनवटा चुनौतिको नाङ्लो ठटाएर बालेन सरकार लखेटिने काखी बजाइ खुच्चिङ शैलीको मिडिया ट्रायललाई कुनै भाउ दिनु आफैँ कविलाई चेतनाबाट माथि उठ्न नसकेको प्रमाणित हुनु हो ‘बालेनलाई लखेटेपछि कसलाई प्रधानमन्त्री बनाउने ?’ प्रस्ट नभइ लखेट्ने स्यालहुइया मच्चाउने पत्रकार जगतको समाचार विश्लेषण प्रायोजित भात खान भन्ने यसै प्रमाणित भइहाल्छ ।
प्राडा जगतलाई प्रतिनिधित्व गर्ने पत्रकार राजेन्द्र बानीयाको भाषामा १२ भाइ पत्रकार जगतको झझल्को दिने ७ भाइ पूर्वराजदूतहरूको ‘बालेन सरकार ढल्नु पर्ने’ संयुक्त वक्तव्यमा मलाई पनि अलिकति टिप्पणी गर्न जाँगर चलेको हो । ‘बालेन सरकारको जानकारीमा ८० कटेका तिब्बति धर्मगुरु दलाइ लामाको जन्मोत्सव समारोह भयो ।
अब चीन रिसाएर नेपाललाई कच्याक कुचुक पारिदिन्छ । त्यसैले बालेन सरकार तुरुन्त ढल्नु पर्छ’ ७ पूर्वराजदूतहरूको संयुक्त वक्तव्यको सार ठहर हो । यसमा कविलायी (ढिस्को) चेतनाको पराकाष्टा के भने, ती सातजना कुनै न कुनै समय चीनका राजदूत थिए । हरेक वर्ष नेपालमा दलाइ लामाको जन्मोत्सव मनाउन थालिएको उनी तिब्बत छोडे यतादेखि नै हो । मात्र विगतका सरकार नदेखे झैँ गरिदिन्थ्ये । बालेनले देखेको भनिदिए ।
चीन–नेपालको सनातन सम्बन्ध बारे ज्ञानमणि नेपालले लेख्नुभएको इतिहासमा यहाँ गइँन । बहादुर शाह विषयको (विसं. १८३१) एउटा सन्दर्भमा चीनका बादशाहको नेपालसम्बन्धी एउटा वक्तव्य (उद्गार) इतिहास शिरोमणि बाबुराम आचार्यले पाठ्यक्रममा ल्याउनु भएको छ । ‘नेपाल हाम्रो कुलदेवताको वासस्थान हो’ बादशाहको वक्तव्य हो । नेपालप्रति चीनको यो ‘बादशाह नीति’ कालक्रममा माओका पालासम्म यथावत् रहेको नेपालमा कलकारखाना उद्योगधन्दा फस्टाउन राजा महेन्द्रलाई दिएको साथ सहयोगबाट पुष्टी र प्रमाणित हुन्छ । अझ त्यो भन्दा पनि १९ वर्षसम्म (विसं. २००८ सालदेखि ०२७ सम्म) नेपालको छातिका १८ ठाउँमा भारतीय सैनिक क्याम्प (पोस्ट) गाडेर सार्वभौमिकता कुल्चेकोमा ती सैनिक पोस्ट उखेल्न माओले महेन्द्रलाई साथ नदिएका भए सम्भव थिएन । ‘नेपाल जोगिनुको एउटा फ्याक्टर चीन’ भन्ने यति पनि जानकारी नभइ चीनका राजदूत हुनेहरूलाई कविलायी चेतनाका बज्रस्वाँठ संज्ञा दिनुभन्दा के विकल्प रहन्छ र ?जहाँसम्म ‘सर्वोच्चको देश लुट्न छुट आदेश’ र ‘गणेश नेपाली आत्मदाह’को सवाल छ, सर्वोच्चको आदेश त्योभन्दा माथि जानलाई पनि हुन सक्छ । गोली ठोकेर ७६ जनाको नरसंहार गर्ने कांग्रेस एमालेले गणेश नेपाली आत्मदहन दुर्घटना उचालेर बालेन सरकार ढाल्ने गुड्डी, भयो अब कुरा सकियो । अस्तु ।