काठमाडौं,सरकारले प्रचलनमा रहेका एक र दुई रुपैयाँ दरका सिक्काको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकलाई नयाँ डिजाइनका एक र दुई रुपैयाँका सिक्का टक्सार गरी प्रचलनमा ल्याउन स्वीकृति दिएको हो ।
सरकारको निर्णयअनुसार नयाँ सिक्कामा हाल अंकित नेपालको चुच्चे नक्सा हटाइनेछ । त्यसको सट्टा मुस्ताङ जिल्लामा रहेका दुई ऐतिहासिक तथा धार्मिक महत्वका गुम्बाको चित्र अंकित गरिनेछ । सिक्काको नयाँ डिजाइन तयार गर्ने क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग समेत परामर्श तथा राय–सुझाव लिइएको स्रोतले जनाएको छ ।
नेपाल राष्ट्र बैंक ऐन तथा नोट तथा सिक्कासम्बन्धी व्यवस्थाअनुसार सिक्का वा नोटको डिजाइन, आकार वा तौल परिवर्तन गर्न नेपाल सरकारको स्वीकृति आवश्यक पर्ने व्यवस्था छ । मन्त्रिपरिषद्को निर्णयपछि राष्ट्र बैंकले स्वीकृत डिजाइनअनुसार नयाँ सिक्का टकसार गरी चरणबद्ध रूपमा चलनचल्तीमा ल्याउने तयारी गरेको छ ।