काठमाडौं, चालू आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै पैचो पसल पब्लिक कम्पनीमा रूपान्तरण भएको छ । पैचो पसल प्रालिबाट ‘पैचो पसल लिमिटेड’मा रूपान्तरण भई औपचारिक रूपमा पब्लिक लिमिटेड कम्पनीका रूपमा सञ्चालनमा आएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट आवश्यक कानुनी स्वीकृति प्राप्त गरेसँगै कम्पनीले आफ्नो नयाँ संस्थागत संरचनाअनुसार कारोबार प्रारम्भ गरेको पैचोले जनाएको छ । विक्रम संवत २०७१ सालमा स्थापना भएको पैचोले १२ वर्षदेखि नेपाली कृषक, स्थानीय उत्पादन र उपभोक्ताबीच विश्वासको सशक्त सेतु निर्माण गर्दै आएको छ । उत्पादनदेखि प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, बजार व्यवस्थापन र वितरणसम्मको एकीकृत मूल्य शृंखला विकास गर्दै कम्पनीले नेपालको कृषि क्षेत्रमा निजी क्षेत्रको सफल मोडलका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ । पब्लिक लिमिटेडमा रूपान्तरणसँगै कम्पनीले आफ्नो पुँजी आधार विस्तार, संस्थागत सुशासन सुदृढीकरण, आधुनिक प्रविधिमा लगानी, उत्पादन क्षमता अभिवृद्धि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार विस्तारलाई नयाँ प्राथमिकताका रूपमा अघि बढाउने जनाएको छ ।
पैचो पसल लिमिटेडका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले कम्पनीको यो रूपान्तरण केवल कानुनी संरचना परिवर्तनका रूपमा मात्रै नभई नेपाली कृषि उद्यमको भविष्य निर्माण गर्ने ऐतिहासिक उपलब्धि भएको बताए । उनका अनुसार पैचोको आगामी रणनीति नेपाली कृषि उत्पादनलाई अझ प्रतिस्पर्धी, गुणस्तरीय र विश्व बजारसम्म पुर्याउने दिशामा केन्द्रित हुनेछ । पैचोले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रका कृषकसँग प्रत्यक्ष सहकार्य गर्दै ताजा कृषि उत्पादनलाई आधुनिक प्रशोधनमार्फत बजारयोग्य बनाउँदै आएको छ ।
हाल कम्पनीले केचप, जाम, विभिन्न प्रकारका अचार, चुक, छोप, आँटो, कोदोको पिठो, सिन्की, महलगायत करिब एक सयभन्दा बढी कृषि तथा खाद्य उत्पादन बजारमा उपलब्ध गराइरहेको छ । कम्पनीले ‘ताजा तरकारी बिक्री भण्डार’को सञ्जाल विस्तार गर्दै ग्रामीण कृषि उपजको प्रत्यक्ष बजारीकरणलाई सुदृढ बनाउन ब्राण्डिङ गर्ने योजना अघि सारेको छ । त्यससँगै कृषि प्रशोधन उद्योगमा थप लगानी, रोजगारी सिर्जना, स्थानीय उत्पादनको मूल्य अभिवृद्धि तथा स्वदेशी कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी नेपाली ब्रान्डका रूपमा स्थापित गर्ने दीर्घकालीन रणनीति अवलम्बन गरिएको कम्पनीले जनाएको छ ।
आईपीओ तयारी अन्तिम चरणमा
कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी तयारी समेत अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापकका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ । आवश्यक नियामकीय प्रक्रिया पूरा भएपछि कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने जनाएको छ ।