अहिलेको सरकारको पृष्ठभूमि भनेको जेन–जी आन्दोलन नै हो । यो आन्दोलन आफैँमा कस्तो थियो, कसले नेतृत्व गरेको थियो, उद्देश्य के थियो, क्षति कस्तो भयो भन्ने पक्ष अलग होला तर अहिलेको सरकारको पृष्ठभूमि भने यो आन्दोलनले नै बनाएको हो । त्यही अनुसार एउटा दलको इतिहासकै सबभन्दा बलियो सरकार बन्यो । यसका प्रधानमत्रीमा बालेन्द्र शाह बने । अर्थात् यो आन्दोलनको सबभन्दा बढी लाभान्वित हुने व्यक्ति उनै हुन् । तर यिनै व्यक्ति जेनजी आन्दोलनको एक वर्ष पुगेको दिन नयाँ बानेश्वरको संसद् परिसरमा आयोजितलगायतका कार्यक्रममा कतै पनि उपस्थित भएनन् । यो दिन त्यसदिन मारिएकाहरूको शालिकको अनावरण गर्ने पनि कार्यक्रम थियो तर कतै पनि प्रधानमन्त्री बालेनको अनुपस्थिति नै रह्यो । यतिमात्र होइन प्रधानमन्त्री शाहले यो दिवसलाई उनले जति तिरस्कार गरे त्यो आफैँमा कृतघ्नताको एउटा नमुना हुनुपर्छ । यो दिन सहादत प्राप्त गर्नेहरूलाई सहिद भनेर घोषणा भएको छ । उनका लागि श्रद्धाञ्जली दिनसमेत कन्जुस्याइँ गरेको देखियो । यसैलाई नै कृतघ्नताको नमुना मानिएको बुझ्न सकिन्छ ।
सम्भवतः यसैकारण होला यस दिनको संसद्मा प्रधानमन्त्रीको यस्तो व्यवहारप्रति गम्भीर प्रश्न उठ्यो । प्रधानमन्त्री शाहले सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली तर त्यसमा हार्दिकता भने एक थोपो पनि थिएन । आजसम्मको प्रचलन के हो भने, यस्ता औपचारिक पदमा रहेका व्यक्तिले सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने समय दिनको प्रारम्भमा नै हुने गर्दथ्यो । देशका प्रधानमन्त्रीले त राष्ट्रका नाममा सम्बोधन गर्थे । नभए पनि वक्तव्य जारी गर्थे । तर शाहले त्यो परम्परा तोडेर फेसबुकबाट त्यो पनि साँझ सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली भन्ने शब्द लेखे । प्रधानमन्त्री शाहले साँझ ७ बजेर १८ मिनेटमा फेसबुकमा ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।’ भनेर एक वाक्यको सन्देश पोस्ट गरेका थिए ।
सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली दिन आयोजित कार्यक्रमा उनको अनुपस्थितिका बारे न उनले न उनको कार्यालयले कतै पनि खुलाएको पाइएन । यो दिन सार्वजनिक बिदा भएको हुनाले प्रधानमन्त्रीको अरु कुनै सार्वजनिक कार्यक्रम हुने कुरा पनि भएन । तर उनी भने दिनभरि नै लुकिरहे । लुकाइ पनि कस्तो भने प्रिय जेनजी, सुशासन कायम हुने नै छ, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली भन्नका लागि पनि त्यसदिन रातीमात्रै भ्याए । यसले नै उनले भनेको सहिदहरूप्रतिको हार्दिक श्रद्धाञ्जलीमा हार्दिकता भने अलिकति पनि नरहेको भन्ने बुझाइ आम तहमा बन्यो । यसले शाहले जेनजी आन्दोलनका सहिदहरूलाई सम्झन पनि खोजेनन् भन्ने अर्थ दियो । यसबारे प्रधामन्त्रीले कुनै दिन प्रष्ट पार्लान् नै ।
यता स्मृति सभामा बिहानैदेखि सहिद परिवारले उनको खोजी गरिरहेका थिए । जेनजी आन्दोलनको यो पहिलो एक वर्ष पुगेको दिन हो । त्यसमा नै प्रधानमन्त्रीको यस्तो हेपाइले आम नागरिकसामु दिने सन्देश सामान्य नहुन सक्दछ । सहिद परिवारका लागि त यो एउटा अपूरणीय अपमान नै थियो, जो संसद्मा पनि प्रकट भयो । एक जना सहिदकी आमाले प्रतिनिधिसभामा सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? भनेर प्रश्न नै गरिन् । संसद्मा उनले बताएअनुसार सहिद परिवारले प्रधानमन्त्रीलाई कार्यक्रममा आउन पटक–पटक आग्रह गरेका थिए, निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त बोलिदिनुस्, जेनजी सहिदको नाममा केही त लेखिदिनुस् भनेर बिहान ७ बजेबाट भन्दा बेलुकी ७ बजे स्टाटस त आयो । अन्तमा एक वर्षपछि सहिदलाई श्रद्धाञ्जली । जेनजीको पृष्ठभूमिमा बनेको सरकारले जेनजीप्रति व्यवहार भने त्यो आन्दोलनले विस्थापित गरेकाको भन्दा चर्को देखियो । यो पनि कृतघ्नताको अर्को नमुना हुनुपर्छ । अहिलेको प्रश्न हो, यस्ता कृतघ्नहरूले शासित राज्य र यसका नागरिकले के आशा र अपेक्षा गर्ने ।