काठमाडौं, भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारका विद्यार्थीको उच्च शिक्षा प्रभावित हुन नदिन इम्बार्क कलेजले २ करोड ७० लाख रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ ।
कलेजले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले पूर्ण छात्रवृत्तिको घोषणा गरेको हो । कलेजका अनुसार आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष चार जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । यसअनुसार पाँच वर्षको अवधिमा कुल २० जना विद्यार्थी छात्रवृत्तिबाट लाभान्वित हुनेछन् । छात्रवृत्ति एमबीए तथा बीएस्सी बिजनेस म्यानेजमेन्ट कार्यक्रममा अध्ययन गर्न चाहने बाढी प्रभावित परिवारका विद्यार्थीलाई उपलब्ध गराइने कलेजले जनाएको छ ।
विपद्का कारण परिवारको आर्थिक अवस्था कमजोर हुँदा उच्च शिक्षा निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीलाई यसबाट प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ । इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले विपद्का कारण विद्यार्थीको उच्च शिक्षा प्रभावित हुन नदिन छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरिएको बताए । प्राकृतिक विपद्का कारण प्रभावित परिवारका विद्यार्थीले आर्थिक समस्याकै कारण उच्च शिक्षा छाड्नुपर्ने अवस्था आउन नदिन निरन्तर सहयोग आवश्यक रहेको ठाकुरको भनाइ छ ।
इम्बार्क कलेजले बाढी प्रभावित नागरिकको तत्कालीन राहत तथा पुनस्र्थापनाका लागि समेत आर्थिक सहयोग गरेको छ। कलेज, कर्मचारी तथा विद्यार्थीबाट संकलन गरिएको ६ लाख ७७ हजार ८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कलेजले जनाएको छ ।