काठमाडौं, भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र सञ्चालकले ७५ लाख ५३ हजार नौ सय ४७ रुपैयाँ जुटाएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको पहलमा संकलित उक्त रकम प्याब्सन केन्द्रीय समितिमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ । प्याब्सन नेपालको आह्वानपछि झापामा आबद्ध एक सय ३९ विद्यालयमार्फत राहत रकम संकलन गरिएको हो । विद्यालय सञ्चालकसँगै शिक्षक, विद्यार्थी र अभिभावकको सहभागितामा संकलित रकम बिहीबार प्याब्सन झापाको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय समितिका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।
प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले केही विद्यालयले अझै सहयोग रकम उपलब्ध गराउन बाँकी रहेको बताए । उनले एक साताभित्र थप रकम संकलन गरेर सहयोग रकम एक करोड रुपैयाँ पुर्याउने तयारी गरिएको जानकारी दिए । ‘पहिलो चरणमा संकलित रकम केन्द्रीय समितिको खातामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएका छौँ,’ कार्कीले भने, ‘केही विद्यालयले अझै रकम दिने प्रतिबद्धता जनाएका छन्। त्यसबाट थप रकम संकलन गरी एक करोड रुपैयाँ पुर्याएर हस्तान्तरण गर्नेछौँ ।’
उनले विपद्का बेला निजी विद्यालय क्षेत्रले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग जुटाएको बताए । बाढीबाट प्रभावित परिवारलाई तत्काल राहतसँगै पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेकाले विद्यालय परिवारलाई अभियानमा जोडिएको उनको भनाइ छ ।